अकल्याण्ड – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता न्युजिल्याण्ड भ्रमणमा आउने भएका छन्। न्युजिल्याण्ड सरकारले मोदीको भ्रमण आधिकारिक रूपमा पुष्टि गरेको हो।
सरकारका अनुसार प्रधानमन्त्री मोदी जुलाई १० (शुक्रबार) अकल्याण्ड आइपुग्नेछन् भने जुलाई ११ (शनिबार) न्युजिल्याण्डबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन ले यो भ्रमणलाई “ऐतिहासिक” भन्दै स्वागत गरेका छन्। उनले मोदीको यो पहिलो न्युजिल्याण्ड भ्रमण मात्र नभई ४० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले न्युजिल्याण्डको भ्रमण गर्न लागेको पहिलो अवसर भएको बताएका छन्।
प्रधानमन्त्री लक्सनले जारी गरेको वक्तव्यमा, “यो भ्रमण न्युजिल्याण्ड र भारतबीचको सफल साझेदारीलाई अझ मजबुत बनाउने अवसर हो। यसले दुवै देशका नागरिकका लागि समृद्धि र सुरक्षामा थप सहयोग पुर्याउनेछ,” उल्लेख गरेका छन्।
उनले अप्रिलमा हस्ताक्षर भएको न्युजिल्याण्ड–भारत स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement – FTA) ले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार उक्त सम्झौताले न्युजिल्याण्डमा थप रोजगारी सिर्जना गर्ने, निर्यात बढाउने र आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ।
नरेन्द्र मोदी सन् २०१४ देखि भारतका प्रधानमन्त्री छन्। उनी भारतको हिन्दू राष्ट्रवादी झुकाव भएको दक्षिणपन्थी भारतीय जनता पार्टी (भाजपा) का नेता हुन्।


