पुनः निर्वाचित भए सात नयाँ देशसँग व्यापार सम्झौताका लागि वार्ता सुरु गर्ने नेशनलको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

पुनः निर्वाचित भए सात नयाँ देशसँग व्यापार सम्झौताका लागि वार्ता सुरु गर्ने नेशनलको घोषणा

   July 5, 2026  

सत्तारुढ नेशनल पार्टीले पुनः निर्वाचित भए आगामी पाँच वर्षभित्र सात नयाँ अर्थतन्त्रसँग स्वतन्त्र व्यापार सम्झौता (एफटिए) का लागि वार्ता सुरु गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले यसलाई न्युजिल्याण्डका लागि “अर्को एक अर्ब ग्राहकसम्म पुग्ने अवसर” को रूपमा प्रस्तुत गरेको छ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सन र व्यापारसम्बन्धी प्रवक्ता तथा व्यापारमन्त्री टड म्याक्लेले आज अकल्याण्डमा आयोजित कार्यक्रममा पार्टीको निर्वाचन व्यापार नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्।

नेशनलले ब्राजिल, उरुग्वे, अर्जेन्टिना, बंगलादेश, नाइजेरिया, स्विट्जरल्याण्ड तथा युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) अन्तर्गत रहेका आइसल्याण्ड, लिचटेन्स्टाइन र नर्वेसँग व्यापार वार्ता सुरु गर्ने योजना सार्वजनिक गरेको छ।

टड म्याक्लेले यी सात बजारले न्युजिल्याण्डका निर्यातकर्ताका लागि ठूलो सम्भावना बोकेको बताए। उनका अनुसार हाल यी देशहरूमा न्युजिल्याण्डको कुल निर्यात करिब १.८ अर्ब न्युजिल्याण्ड डलर बराबर मात्र रहेको छ, जसले अझ ठूलो व्यापारिक अवसर रहेको देखाउँछ।

पार्टीले प्रस्तावित बजारलाई तीन समूहमा विभाजन गरेको छ। पहिलो समूहमा उच्च मूल्यका युरोपेली अर्थतन्त्र स्विट्जरल्याण्ड र ईएफटीए सदस्य राष्ट्रहरू छन्। दोस्रो समूहमा दक्षिण अमेरिकाका ठूला अर्थतन्त्र ब्राजिल, अर्जेन्टिना र उरुग्वे रहेका छन्। तेस्रो समूहमा तीव्र गतिमा विकास भइरहेका बंगलादेश र नाइजेरिया समावेश छन्।

म्याक्लेले पुनः निर्वाचित नेशनल सरकारले आगामी पाँच वर्षभित्र यी सातवटै बजारसँग व्यापार वार्ता सुरु गरी न्युजिल्याण्डका व्यवसायलाई नयाँ बजारमा पहुँच दिलाउने, निर्यात बढाउने, रोजगारी सिर्जना गर्ने र आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको बताए।

उनका अनुसार पहिलो चरणपछि अर्को दशकभित्र दोस्रो चरणमा दक्षिण अफ्रिका, टर्की, कोलम्बिया, मोरक्को, श्रीलङ्का र मौरिसससँग पनि व्यापार वार्ता सुरु गरिनेछ। यी दुवै चरणका देशहरूको संयुक्त जनसंख्या करिब एक अर्ब रहेको पार्टीको दाबी छ।

म्याक्लेले भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौतालाई आफ्नो सरकारको सफलताको उदाहरणका रूपमा प्रस्तुत गर्दै भने, “क्रिस्टोफर लक्सनले पहिलो कार्यकालमै भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने वाचा गर्नुभएको थियो, र धेरैले असम्भव भने पनि हामीले त्यो पूरा गर्‍यौं।”

उनले पुनः निर्वाचित नेशनल सरकारले यही महत्वाकांक्षा र सक्रियताका साथ न्युजिल्याण्डका लागि नयाँ व्यापारिक बजारको ढोका खोल्ने दाबी गरे।

यो घोषणा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जुलाई १० मा हुने न्युजिल्याण्ड भ्रमणभन्दा केही दिनअघि गरिएको हो। मोदीको यो भ्रमण ४० वर्षपछि भारतका कुनै प्रधानमन्त्रीको पहिलो औपचारिक न्युजिल्याण्ड भ्रमण हुनेछ।