न्युजिल्याण्डका पुर्व उपप्रधानमन्त्री तथा न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको न्युजिल्याण्ड भ्रमणका क्रममा उनीसँग भेटवार्ता नगर्ने भएका छन्। प्रधानमन्त्री मोदी न्युजिल्याण्डको औपचारिक भ्रमणमा रहँदा पिटर्स भने सिंगापुर र जापानको पूर्वनिर्धारित सरकारी भ्रमणमा हुनेछन्।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यसलाई सामान्य अवस्था भएको बताएका छन्। उनका अनुसार यो प्रधानमन्त्रीस्तरको भ्रमण भएकाले प्रधानमन्त्री मोदीको स्वागत, भेटवार्ता र औपचारिक कार्यक्रमको नेतृत्व आफूले नै गर्नेछन्। विदेशमन्त्री विदेशमा हुनु अस्वाभाविक नभएको भन्दै उनले यसलाई अनावश्यक रूपमा विवाद बनाउन नहुने बताए।
पिटर्सका प्रवक्ताले पनि विदेशमन्त्रीको जापान र सिंगापुर भ्रमण महिनौँअघि नै तय गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार यो भ्रमण विदेश मन्त्रालयको रणनीति तथा सरकारको अन्तर्राष्ट्रिय संलग्नता योजनाअनुसार तय गरिएको हो र यसको समय प्रधानमन्त्री मोदीको भ्रमणसँग कुनै सम्बन्ध छैन।
यसबीच भारत–न्युजिल्याण्ड स्वतन्त्र व्यापार सम्झौतालाई लिएर सरकारभित्र मतभेद देखिएको छ। न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले सुरुदेखि नै भारतसँगको स्वतन्त्र व्यापार सम्झौताको आलोचना गर्दै आएका छन्। उनले आफ्नो दलको समर्थनसमेत रोक्दै सम्झौताले भारतीय नागरिकलाई अन्य देशका नागरिकभन्दा फरक व्यवहार गर्ने गरी आप्रवासन व्यवस्थामा परिवर्तन हुन सक्ने आशंका व्यक्त गरेका छन्।
संसदमा व्यापार सम्झौतासम्बन्धी विधेयकको पहिलो वाचनका क्रममा पनि पिटर्सले सरकारले भारतीय नागरिकलाई विशेष सुविधा दिने गरी आप्रवासन नीतिमा गोप्य रूपमा परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए। तर व्यापारमन्त्री टड म्याक्लेले उक्त आरोप अस्वीकार गर्दै सम्झौतामा कुनै पनि देशका नागरिकप्रति विभेद नगर्ने बताएका छन्।
प्रधानमन्त्री लक्सनले भने पिटर्स स्वतन्त्र व्यापार सम्झौताप्रति सामान्यतया नै आलोचनात्मक रहने गरेको टिप्पणी गरे। उनले चीनसँगको होस् वा भारतसँगको, पिटर्सले यस्ता सम्झौताप्रति सधैं शंका व्यक्त गर्दै आएको बताए।
लक्सनले आप्रवासी समुदायविरुद्ध नकारात्मक भावना फैलाउने अभिव्यक्तिको पनि आलोचना गरेका छन्। न्युजिल्याण्डमा निष्पक्ष र लक्षित आप्रवासन प्रणाली रहेको उल्लेख गर्दै उनले आप्रवासी समुदायलाई दोषारोपण गर्ने वा उनीहरूविरुद्ध घृणा फैलाउने राजनीतिक गतिविधि उचित नभएको बताए।
यता विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्सले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताका विषयमा सरकारभित्र स्पष्ट मतभेद रहेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री मोदीको भ्रमणका बेला विदेशमन्त्री देशबाहिर रहनु सरकारका लागि सुविधाजनक देखिएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको न्युजिल्याण्ड भ्रमण ४० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गर्ने पहिलो औपचारिक भ्रमण हुनेछ। यस भ्रमणलाई न्युजिल्याण्ड–भारत सम्बन्धमा ऐतिहासिक मानिएको छ।


