मोदीको भ्रमण: अकल्याण्डमा उच्च सुरक्षा सतर्कता, सडक आवागमनमा अस्थायी अवरोध हुन सक्ने – New Zealand News Nepal (NZ News Nepal)

मोदीको भ्रमण: अकल्याण्डमा उच्च सुरक्षा सतर्कता, सडक आवागमनमा अस्थायी अवरोध हुन सक्ने

   July 10, 2026  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्याण्ड भ्रमणलाई लक्षित गर्दै अकल्याण्डमा व्यापक सुरक्षा व्यवस्था कडा पारिएको छ। विश्वकै उच्च सुरक्षा आवश्यक पर्ने नेतामध्ये एक मानिने मोदीको भ्रमणका लागि देशका विभिन्न क्षेत्रबाट विशेष तालिमप्राप्त प्रहरी टोली अकल्याण्डमा परिचालन गरिएको छ। मोदी आज बेलुकी अकल्याण्ड आइपुग्नेछन् भने भोलि नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

करिब ४० वर्षपछि भारतीय प्रधानमन्त्रीले न्युजिल्याण्ड भ्रमण गर्न लागेको यो अवसरलाई प्रधानमन्त्री क्रिस्टोफर लक्सनले ऐतिहासिक भ्रमणको संज्ञा दिएका छन्। न्युजिल्याण्ड प्रहरीले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भ्रमण अवधिभर भीड व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा सम्भावित सुरक्षा चुनौतीको सामना गर्न सार्वजनिक सुरक्षा तथा भीड नियन्त्रणमा विशेषज्ञ प्रहरी टोली परिचालन गरिनेछ। प्रहरीका अनुसार अकल्याण्डका केही क्षेत्रमा सडक आवागमनमा अस्थायी अवरोध हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक योजना बनाएर यात्रा गर्न आग्रह गरिएको छ।

मोदीको व्यस्त कार्यक्रमअन्तर्गत प्रधानमन्त्री लक्सनसँग द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर वा आदान–प्रदान, व्यापारिक भेटघाट, खेलकुदसँग सम्बन्धित कार्यक्रम तथा भारतीय समुदायसँग विशेष भेटघाट समावेश छन्। भ्रमणको सबैभन्दा ठूलो सार्वजनिक कार्यक्रम ‘किया ओरा मोदी’ सामुदायिक स्वागत समारोह हुनेछ, जुन शनिबार स्पार्क एरिनामा आयोजना हुँदैछ। आयोजकका अनुसार कार्यक्रमका सबै टिकट भरिसकेका छन्।

सरकारका अनुसार लक्सन र मोदीबीच व्यापार तथा लगानी, समुद्री सुरक्षा, शिक्षा, प्रविधि, पर्यटन, खेलकुद तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विस्तृत छलफल हुनेछ। अप्रिलमा सम्पन्न भएको न्युजिल्याण्ड–भारत स्वतन्त्र व्यापार सम्झौता (FTA) कार्यान्वयनका विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ।

यद्यपि मोदीको भ्रमण राजनीतिक रूपमा संवेदनशील समयमा भइरहेको छ। स्वतन्त्र व्यापार सम्झौताका आप्रवासनसम्बन्धी प्रावधानलाई लिएर सत्तारूढ गठबन्धनभित्र मतभेद देखिएको छ भने डेस्टिनी चर्चका नेता ब्रायन तमाकीका विवादास्पद अभिव्यक्तिपछि पनि सुरक्षा निकाय थप सतर्क बनेका छन्। सुरक्षाको कारण देखाउँदै प्रहरीले मोदीको भ्रमणसम्बन्धी विस्तृत सुरक्षा योजना भने सार्वजनिक गरेको छैन। भ्रमण अवधिभर अकल्याण्डमा उच्च सुरक्षा सतर्कता कायम रहने जनाइएको छ।