न्युजिल्याण्डमा आज माओरी समुदायको नयाँ वर्ष मनाइँदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा आज माओरी समुदायको नयाँ वर्ष मनाइँदै

   July 10, 2026  

न्युजिल्याण्डभर आज मातारिकी डे सार्वजनिक बिदाका रूपमा मनाइँदै छ। मातारिकीलाई माओरी समुदायको नयाँ वर्षको सुरुवातको प्रतीक मानिन्छ। आकाशमा मातारिकी तारागुच्छ (Pleiades) उदाएपछि सुरु हुने यो पर्व माओरी संस्कृति, परम्परा र आध्यात्मिक महत्वसँग जोडिएको छ।

मातारिकीको सांस्कृतिक महत्व धेरै पहिलेदेखि रहे पनि यसलाई सन् २०२२ देखि न्युजिल्याण्ड सरकारले राष्ट्रिय सार्वजनिक बिदा घोषणा गरेको हो। यस वर्ष मनाइँदै गरेको मातारिकी डे सार्वजनिक बिदाको रूपमा पाँचौं पटक हो।

मातारिकी प्रत्येक वर्ष एउटै मितिमा पर्दैन। यस वर्ष यो जुलाई १०, शुक्रबार परेको छ। मातारिकी सार्वजनिक बिदा सधैं शुक्रबार मनाइए पनि यसको मिति हरेक वर्ष फरक हुने गर्दछ। यसको कारण माओरी समुदायले ग्रेगोरियन पात्रोभन्दा मारामाताका (माओरी चन्द्र पात्रो) लाई आधार मान्नु हो। मातारिकी तारागुच्छको उदय र ‘ताङारोआ’ चन्द्र चरणका आधारमा यसको मिति निर्धारण गरिने भएकाले यो प्रायः जुनको अन्तिम साता र जुलाईको मध्यबीच पर्ने गर्छ।

सरकारले मातारिकीलाई सम्बन्धित चन्द्र चरण नजिकको शुक्रबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। यसले न्युजिल्याण्डवासीलाई यात्रा योजना बनाउन, परिवारसँग समय बिताउन तथा जाडो मौसमका विभिन्न सांस्कृतिक कार्यक्रम र उत्सवहरू मनाउन सहज हुने विश्वास गरिएको छ। साथै, हरेक वर्ष लगातार तीन दिनको लामो सप्ताहन्त (Long Weekend) समेत सुनिश्चित हुन्छ।

मातारिकी केवल नयाँ वर्षको सुरुवात मात्र नभई भूत, वर्तमान र भविष्यलाई जोड्ने पर्वका रूपमा पनि चिनिन्छ। यस अवसरमा बितेका वर्षमा दिवंगत भएका आफन्त तथा प्रियजनको सम्झना गरिन्छ, वर्तमानमा परिवार, साथीभाइ र समुदायसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गरिन्छ, र आगामी वर्षका लागि नयाँ लक्ष्य तथा संकल्प लिने परम्परा रहेको छ।

माओरी समुदायका लागि मातारिकी आशा, पुनर्जागरण, एकता र नयाँ सुरुवातको प्रतीक मानिन्छ। पछिल्ला वर्षहरूमा यसको महत्व माओरी समुदायमा मात्र सीमित नरही सम्पूर्ण न्युजिल्याण्डभर विभिन्न सांस्कृतिक कार्यक्रम, सामुदायिक समारोह र पारिवारिक जमघटमार्फत व्यापक रूपमा मनाइँदै आएको छ।