मोदी आज राति अकल्याण्ड आइपुग्ने, औपचारिक कार्यक्रम भोलिमात्र – New Zealand News Nepal (NZ News Nepal)

मोदी आज राति अकल्याण्ड आइपुग्ने, औपचारिक कार्यक्रम भोलिमात्र

   July 10, 2026  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज राति न्युजिल्याण्ड आइपुग्ने भएका छन्। अष्ट्रेलियाको भ्रमण सम्पन्न गरेपछि उनी अकल्याण्ड पुग्ने कार्यक्रम रहेको छ। यद्यपि, उनको भ्रमणका सबै औपचारिक कार्यक्रम भने शनिबारदेखि मात्रै सुरु हुनेछन्।

शनिबार बिहान प्रधानमन्त्री मोदीलाई अकल्याण्डस्थित गभर्नमेन्ट हाउसमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई नेताबीच व्यापार, लगानी, शिक्षा, कृषि, प्रविधि, क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा दुवै देशबीच विभिन्न सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि तय गरिएको छ।

प्रधानमन्त्री मोदीले न्युजिल्याण्ड–भारत बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जहाँ दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूको सहभागिता रहनेछ। साथै, खेलकुद साझेदारीसम्बन्धी विशेष कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रमुख प्रतिपक्षी दलका नेता क्रिस हिप्किन्ससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा दुई देशबीचको सम्बन्ध, क्षेत्रीय सहयोग तथा साझा चासोका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

भ्रमणको अर्को प्रमुख आकर्षण अकल्याण्डस्थित स्पार्क एरेनामा आयोजना हुने भारतीय समुदायको विशेष स्वागत समारोह हुनेछ। न्युजिल्याण्डभरबाट हजारौं भारतीय मूलका नागरिक सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन्। अकल्याण्डमा न्युजिल्याण्डकै सबैभन्दा ठूलो भारतीय समुदाय बसोबास गर्ने भएकाले भ्रमणका अधिकांश कार्यक्रम त्यहीँ केन्द्रित गरिएको छ।

करिब चार दशकपछि भारतीय प्रधानमन्त्रीले न्युजिल्याण्डको औपचारिक भ्रमण गर्न लागेकाले यसलाई दुवै देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिएको छ।