भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार अकल्याण्ड आइपुगेका छन्। उनी अष्ट्रेलियाको भ्रमण सम्पन्न गरी सिधै न्युजिल्याण्ड आइपुगेका हुन्। यो भ्रमण विगत ४० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीले गरेको पहिलो औपचारिक न्युजिल्याण्ड भ्रमण हो।
प्रधानमन्त्री मोदी सवार विशेष विमान ‘इन्डिया वान’ (बोइङ ७७७) शुक्रबार साँझ करिब ८:१५ बजे अकल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलमा प्रधानमन्त्री मोदीको सम्मानमा रातो कार्पेट बिछ्याइएको थियो। स्वागत समारोहमा भारत र न्युजिल्याण्डका सशस्त्र बलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन स्वयं विमानस्थल पुगेर प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए। आगमनलगत्तै लक्सनले मोदीलाई अँगालो हालेर स्वागत गरेका थिए। स्वागत कार्यक्रममा वरिष्ठ मन्त्री मार्क मिचेल पनि सहभागी थिए।
प्रधानमन्त्री मोदीको यो भ्रमणलाई न्युजिल्याण्ड–भारत सम्बन्धका लागि ऐतिहासिक मानिएको छ। पछिल्लो चार दशकपछि भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमण हुन लागेको र एक दशकभन्दा बढी समययता न्युजिल्याण्ड भ्रमण गर्ने सबैभन्दा उच्चस्तरीय विदेशी नेताका रूपमा मोदीको आगमनलाई विशेष महत्वका साथ हेरिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री लक्सनबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। व्यापार, लगानी, शिक्षा, सुरक्षा, प्रविधि तथा दुई देशबीचको रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यस भ्रमणले भारत र न्युजिल्याण्डबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।


