भारत र न्युजिल्याण्डले सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य तय गरेका छन्। दुवै देशले आगामी केही वर्षभित्र व्यापारको आकार करिब ३५ हजार करोड रुपैयाँ (भारतीय रुपैयाँ) बराबर पुर्याउने उद्देश्यसहित सहकार्यलाई तीव्र बनाउने सहमति गरेका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार अकल्याण्डमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा १० वटा समझदारीपत्र (एमओयू) सहित कुल १८ वटा महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर भएको हो।
दुवै नेताले भारत–न्युजिल्याण्ड व्यापार सम्झौता (एफटीए) लाई यथाशीघ्र निष्कर्षमा पुर्याई कार्यान्वयन गर्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनीहरूले व्यापार, लगानी, कृषि, शिक्षा, प्रविधि, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत सहमति जनाएका छन्।
भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री लक्सनले पश्चिम एसियामा जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए। उनीहरूले सबै पक्षलाई संयम अपनाउन, तनाव कम गर्न तथा सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।
संयुक्त वक्तव्यमा दुवै नेताले होर्मुज जलडमरूमध्य (Strait of Hormuz) हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री आवतजावतको पूर्ण स्वतन्त्रता कायम राख्न र विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्गहरू अवरोधमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय शिपिङमा कुनै पनि प्रकारको अवरोध स्वीकार्य नहुने स्पष्ट पार्दै वार्ता, कूटनीति र अन्तर्राष्ट्रिय कानुनको सम्मानमार्फत द्वन्द्वको शान्तिपूर्ण तथा दिगो समाधान खोज्नुपर्ने आवश्यकता दोहोर्याएका छन्।
प्रधानमन्त्री मोदी जुलाई ६ देखि ११ सम्मको तीन देशीय भ्रमणको अन्तिम चरणमा न्युजिल्याण्ड पुगेका थिए। अकल्याण्डमा उच्चस्तरीय राजनीतिक तथा व्यावसायिक कार्यक्रमहरू सम्पन्न गरेपछि उनी शनिबार भारतको राजधानी नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन्।


