१६ वर्षमुनिका बालबालिकालाई स्मार्टफोन प्रतिबन्ध गर्ने न्युजिल्याण्ड सरकारको तयारी – New Zealand News Nepal (NZ News Nepal)

१६ वर्षमुनिका बालबालिकालाई स्मार्टफोन प्रतिबन्ध गर्ने न्युजिल्याण्ड सरकारको तयारी

   July 16, 2026  

न्युजिल्याण्डमा १६ वर्षमुनिका बालबालिकालाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा बहस तीव्र बनेको छ। सरकारभित्र पनि यस विषयमा छलफल सुरु भएको छ भने एसीटी (ACT) पार्टीका नेता डेभिड सिमोरले स्मार्टफोनमाथि कानुनी प्रतिबन्ध लगाउने विकल्प अघि सारेका छन्।

न्युजिल्याण्डका उप प्रधानमन्त्री समेत रहेका सिमोरले बुधबार आयोजित एक व्यवसायीहरूको कार्यक्रममा बोल्दै बालबालिका र किशोरकिशोरीमा स्मार्टफोनको अत्यधिक प्रयोगसँगै चिन्ता, डिप्रेसन तथा आत्महानीका घटनामा वृद्धि भएको दाबी गरे। उनका अनुसार सामाजिक सञ्जाललाई मात्र प्रतिबन्ध लगाउनुभन्दा स्मार्टफोनमै नियन्त्रण लगाउनु बढी प्रभावकारी हुन सक्छ।

उनले संसदमार्फत १६ वर्षमुनिका बालबालिकाले स्मार्टफोन किन्न, राख्न वा प्राप्त गर्न नपाउने कानुन बनाउन सकिने सुझाव दिएका छन्। यसको सट्टा फोन कल र सन्देश आदानप्रदानका लागि मात्र प्रयोग हुने ‘डम्ब फोन’ (Dumb Phone) प्रयोग गर्न दिने व्यवस्था गर्न सकिने उनको भनाइ छ।

हाल न्युजिल्याण्ड सरकारले अष्ट्रेलिया र बेलायतमा जस्तै सामाजिक सञ्जालमा उमेर-आधारित पहुँच नियन्त्रण गर्ने विकल्पबारे पनि अध्ययन गरिरहेको छ। तर सिमोरले यस्तो प्रतिबन्ध कार्यान्वयन गर्न कठिन हुने, उमेर प्रमाणीकरणले वयस्कहरूको गोपनीयतामा असर पार्न सक्ने र प्रविधिको तीव्र विकासका कारण यस्तो व्यवस्था प्रभावकारी नहुने तर्क गरेका छन्।

उनले सरकारले तत्काल स्मार्टफोन प्रतिबन्ध लागू गर्ने नीति घोषणा नगरेको स्पष्ट पार्दै यो विषयमा सार्वजनिक बहस आवश्यक रहेको बताए। साथै विद्यालय, युवा सङ्गठन र अभिभावकलाई बालबालिकामा स्मार्टफोनको प्रयोग सीमित गर्न स्पष्ट मार्गदर्शन जारी गर्न सरकारलाई सुझाव दिएका छन्।

सिमोरका अनुसार आवश्यक परे बालबालिकालाई साधारण ‘डम्ब फोन’ उपलब्ध गराउन सकिन्छ, तर उनीहरूको बाल्यकालभरि सामाजिक सञ्जाल र अन्य ध्यान आकर्षित गर्ने एपयुक्त स्मार्टफोन बोक्न दिनु उचित नहुने उनको धारणा छ।