न्युजिल्याण्डमा पहिलो पटक बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ। सरकारले शुक्रबार वेलिङ्टनको पेटोन बीचमा भेटिएको एउटा समुद्री चरा ‘ब्राउन स्कुआ’ मा एच–५ बर्ड फ्लु संक्रमण पुष्टि भएको जनाएको हो।
जैविक सुरक्षा मन्त्री एन्ड्र्यु होगार्डका अनुसार जुलाई १० मा सर्वसाधारणले बिरामी अवस्थामा भेटाएको उक्त चरालाई वेलिङ्टन चिडियाखानामा लगिएको थियो। परीक्षणपछि तीन दिनपछि उक्त चरामा एच–५एन१ एभियन इन्फ्लुएन्जा (H5N1 Avian Influenza) क्लेड २.३.४.४बि भाइरस पुष्टि भएको हो।
मन्त्री होगार्डले यो संक्रमणबाट सर्वसाधारण आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार ठूलो संख्यामा संक्रमित चरासँग लामो समयसम्म प्रत्यक्ष सम्पर्कमा नआएसम्म मानिसमा संक्रमणको जोखिम अत्यन्त कम हुन्छ।
“यो मानव स्वास्थ्यको संकट होइन। विदेशका केही देशमा मानिसमा संक्रमण देखिए पनि मानिसबाट मानिसमा सरेको प्रमाण छैन। संक्रमित चरालाई नछुने र अनावश्यक सम्पर्क नगर्ने हो भने जोखिम निकै न्यून छ,” उनले भने।
होगार्डका अनुसार न्युजिल्याण्ड यस रोगका लागि राम्रोसँग तयारी अवस्थामा छ। अन्य देशहरूमा बर्ड फ्लुले पारेको प्रभाव अध्ययन गरेर आवश्यक अनुभव र तयारी गरिसकिएको उनले बताए।
उनले अण्डा र कुखुराको मासु खान सुरक्षित रहेको पनि स्पष्ट पारे। हालसम्म देशका कुनै पनि कुखुरा फार्म वा व्यावसायिक पोल्ट्रीमा संक्रमण पुष्टि नभएको सरकारको भनाइ छ।
सरकारले यो घटनाबारे विश्व पशु स्वास्थ्य संगठन (WOAH) लाई जानकारी गराइसकेको छ। हाल पुष्टि भएको संक्रमण एउटा समुद्री चरामा मात्र सीमित रहेको र न्युजिल्याण्डका जंगली चराहरूबीच संक्रमण फैलिएको वा ठूलो संख्यामा चराहरू मरेको कुनै प्रमाण नभएको मन्त्रालयले जनाएको छ।
सरकारले अवस्था नजिकबाट निगरानी गरिरहेको र थप संक्रमण देखिएमा आवश्यक कदम चालिने जनाएको छ।