साउथ आईल्याण्डका यात्रुका लागि अन्तर्राष्ट्रिय हवाई यात्रा थप सहज हुने भएको छ। क्याथे प्यासिफिकले आगामी नोभेम्बर १ देखि क्राइस्टचर्च–हङकङ सिधा उडान पुनः सञ्चालन गर्ने भएको हो।
एयरलाइन्सले नोभेम्बर १, २०२६ देखि मार्च २७, २०२७ सम्म हप्तामा तीन दिन क्राइस्टचर्च–हङकङ उडान सञ्चालन गर्ने जनाएको छ। साथै, यात्रुको चाप बढ्ने डिसेम्बरदेखि फेब्रुअरी सम्म भने उडान संख्या बढाएर हप्तामा पाँच दिन पुर्याइनेछ।
उडान विस्तारसँगै थप १३ वटा रिटर्न उडान सञ्चालन हुनेछन्, जसबाट करिब ७ हजार अतिरिक्त सिट उपलब्ध हुने क्राइस्टचर्च विमानस्थलले जनाएको छ।
क्राइस्टचर्च विमानस्थलका प्रमुख कार्यकारी अधिकृत जस्टिन वाट्सनले उडान विस्तारले यात्रुहरूलाई थप विकल्प उपलब्ध गराउनुका साथै दक्षिण टापुलाई अन्तर्राष्ट्रिय बजारसँग अझ मजबुत रूपमा जोड्ने बताए। उनका अनुसार यसले दक्षिण टापुका निर्यातकर्तालाई पनि लाभ पुग्नेछ।
अतिरिक्त उडानमार्फत चेरी, जीवित समुद्री परिकार तथा उच्च गुणस्तरको चिसो मासुजस्ता दक्षिण टापुका उत्पादन अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा निर्यात गर्न थप कार्गो क्षमता उपलब्ध हुनेछ।
क्याथे प्यासिफिकका दक्षिणपूर्वी एसिया तथा ओसियाना क्षेत्रीय महाप्रबन्धक अल्ड्रिक चाउले यात्रुहरूको निरन्तर बढ्दो मागलाई ध्यानमा राख्दै क्राइस्टचर्च सेवाको विस्तार गरिएको बताए। उनका अनुसार अतिरिक्त उडानले हङकङ हुँदै एसिया, युरोप तथा विश्वका अन्य गन्तव्यमा यात्रा गर्न थप सहज बनाउनेछ।


