अमेरिकाले न्युजिल्याण्डमाथि १२.५ प्रतिशत ‘ट्यारिफ’ लगाउने

124 Shares

अमेरिकाले न्युजिल्याण्डबाट हुने सबै आयातमा लाग्दै आएको १० प्रतिशत शुल्क बढाएर १२.५ प्रतिशत पुर्‍याउने तयारी गरेको अन्तर्राष्ट्रिय व्यापार विज्ञहरूले बताएका छन्। नयाँ शुल्क यसै साता शुक्रबार रातिदेखि लागू हुने सम्भावना रहेको जनाइएको छ।

सिङ्गापुरस्थित हेनरिक फाउन्डेसन की व्यापार नीति प्रमुख डेबोरा एल्म्स का अनुसार, अमेरिकी कानूनको सेक्सन ३०१ (Section 301) अन्तर्गत यो निर्णय लागू गर्न लागिएको हो। यो व्यवस्थाअनुसार जबर्जस्ती श्रम (Forced Labour) बाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त मापदण्ड नअपनाएका वा त्यस्तो जोखिम भएका देशहरूमाथि १० देखि १२.५ प्रतिशतसम्म आयात शुल्क लगाइनेछ।

एल्म्सका अनुसार न्युजिल्याण्डलाई १२.५ प्रतिशतको समूहमा राखिनुको कारण जबर्जस्ती श्रमसम्बन्धी कमजोरी होइन। बरु, अमेरिकासँग द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता (FTA) नभएकाले न्युजिल्याण्ड स्वतः उच्च शुल्कको श्रेणीमा परेको हो।

यसअघि अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन (IEEPA) अन्तर्गत लगाइएका केही शुल्कहरू कार्यकारी अधिकारभन्दा बाहिर रहेको ठहर गर्दै खारेज गर्न आदेश दिएको थियो। त्यसपछि अस्थायी रूपमा लागू गरिएको १० प्रतिशत शुल्क जुलाई २४ मा समाप्त हुने भएकाले नयाँ शुल्कको घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ।

एल्म्सले नयाँ शुल्क न्युजिल्याण्डबाट अमेरिकामा निर्यात हुने सबै वस्तुमा लागू हुन सक्ने बताएकी छन्। यद्यपि, केही विशेष वस्तु वा रणनीतिक महत्वका सामानका लागि छुट दिनेबारे दुई देशबीच वार्ता हुन सक्ने सम्भावना पनि रहेको उनले उल्लेख गरिन्।

यद्यपि, यो निर्णयका बीच न्युजिल्याण्डका लागि केही सकारात्मक पक्ष पनि देखिएको छ। एल्म्सका अनुसार अमेरिका अहिले युरोपेली संघ, जापान, अष्ट्रेलियालगायत १६ प्रमुख व्यापार साझेदार विरुद्ध थप शुल्क लगाउने तयारीमा छ। यदि ती देशमाथि अझ बढी शुल्क लागेमा, न्युजिल्याण्डका उत्पादनहरू अमेरिकी बजारमा प्रतिस्पर्धात्मक रूपमा केही फाइदामा पर्न सक्ने सम्भावना रहेको उनले बताइन्।

सम्बन्धित समाचार

सबै