न्युजिल्याण्डमा नेपाली वाणिज्यदूत नहुँदा सेवा प्रभावित, दूतावाससम्बन्धी सबै सेवा अब अष्ट्रेलियाबाट

254 Shares

न्युजिल्याण्डमा नेपाली अवैतनिक वाणिज्यदूत (Honorary Consul) को पद हाल रिक्त रहेकाले यहाँ रहेका नेपाली नागरिकले पाउँदै आएका कन्सुलर सेवा प्रभावित भएको छ। अब राहदानी नवीकरणदेखि कागजात प्रमाणीकरणसम्मका सबै कन्सुलर सेवा अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासबाट मात्रै प्रदान गरिने भएको छ।

पुर्व वाणिज्यदूत दिनेश खड्काले जारी गर्नु भएको सार्वजनिक सूचनामा न्युजिल्याण्डमा हाल कुनै पनि नेपाली अवैतनिक वाणिज्यदूत कार्यरत नरहेको उल्लेख गर्दै सबै कन्सुलर सेवा आवश्यकताका लागि सेवाग्राहीलाई क्यानबेरास्थित नेपाली दूतावाससँग सिधै सम्पर्क गर्न आग्रह गरिएको छ।

खड्काका अनुसार राहदानी (पासपोर्ट) नवीकरण, पावर अफ अटर्नी, कागजात प्रमाणीकरण, नागरिकतासम्बन्धी परामर्श, ट्राभल डकुमेन्ट लगायतका सम्पूर्ण कन्सुलर सेवाका लागि अब दूतावासकै अधिकारीसँग सम्पर्क गर्नुपर्नेछ।

यसअघि न्युजिल्याण्डमा नेपाली समुदायलाई स्थानीय स्तरमै कन्सुलर सहजीकरण उपलब्ध गराउँदै आएको अवैतनिक वाणिज्यदूतको पद रिक्त भएपछि अब अधिकांश सेवाका लागि क्यानबेरास्थित नेपाली दूतावासमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ। नयाँ वाणिज्यदूत नियुक्त नहुँदासम्म यही व्यवस्था कायम रहने जनाइएको छ।

बालेन सरकारले न्युजिल्याण्डसहित विभिन्न देशका १५ अवैतनिक वाणिज्यदूतलाई गत मेमा पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

सबै