न्युजिल्याण्डका पूर्व अर्थमन्त्री सर विलियम (बिल) बर्चको ९२ वर्षको उमेरमा निधन भएको छ।
बर्चले २७ वर्षसम्म सांसदका रूपमा सेवा गरेका थिए। उनी सूक्ष्म विषयमा गहिरो ज्ञान, मेहनती स्वभाव र प्रशासनिक क्षमताका लागि परिचित थिए। सरकारमा रहँदा उनले १२ वर्षको अवधिमा १५ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
धेरै मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण उनलाई ‘मिनिस्टर फर एभ्रिथिङ” भन्ने उपनामले समेत चिनिन्थ्यो। उनले अर्थ, ऊर्जा, श्रम तथा क्षेत्रीय विकासलगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेका थिए।
बर्चले चौथो नेशनल सरकारका बेला सन् १९९३ देखि १९९९ सम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बर्चलाई नेशनल पार्टीका “एक महान व्यक्तित्व” भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले बर्चले “देशका लागि आफूले पाउने श्रेयभन्दा धेरै योगदान दिएका व्यक्ति” भएको बताएका छन्।
बर्चको निधनसँगै न्युजिल्याण्डले लामो राजनीतिक अनुभव, कडा परिश्रम र प्रभावशाली नेतृत्वका लागि चिनिएका एक वरिष्ठ नेतालाई गुमाएको छ।


