न्युजिल्याण्डका कर्मचारीहरूले पाउने वार्षिक बिदा (Annual Leave) र बिरामी बिदा (Sick Leave) सम्बन्धी नियममा ठूलो परिवर्तन हुन सक्ने भएको छ। सन् २००३ को Holidays Act जटिल भएको निष्कर्ष निकाल्दै Education and Workforce Committee ले संसदमा संशोधन विधेयक पेश गरेको हो।
यद्यपि, लेबर पार्टी र ग्रीन पार्टीले प्रस्तावित विधेयकको आलोचना गर्दै यसले विशेषगरी पार्ट–टाइम कर्मचारीहरूलाई बढी असर गर्ने बताएका छन्।
प्रस्तावित विधेयकका मुख्य बुँदाहरू:
• Annual Leave र Sick Leave अब काम गरेको मानक (Standard) घण्टाका आधारमा जम्मा हुनेछ, दिनका आधारमा होइन।
• Annual Leave प्रत्येक Standard Hour मा ०.०७६९ घण्टाको दरले जम्मा हुनेछ, जसले पूर्णकालीन (Full-time) कर्मचारीलाई वर्षमा चार हप्ताको बिदा सुनिश्चित गर्नेछ।
• Sick Leave प्रत्येक Standard Hour मा ०.०३८५ घण्टाको दरले जम्मा हुनेछ, जसले पूर्णकालीन कर्मचारीलाई वर्षमा १० दिन बिरामी बिदा उपलब्ध गराउनेछ।
• Additional वा Casual Work Hours का लागि वार्षिक वा बिरामी बिदा जम्मा हुने छैन। यसको सट्टा रोजगारदाताले प्रत्येक तलब अवधिमा ती अतिरिक्त घण्टाको १२.५ प्रतिशत Leave Compensation भुक्तानी गर्नुपर्नेछ, जुन कर्मचारीको सामान्य प्रतिघण्टा पारिश्रमिकका आधारमा गणना गरिनेछ।
• आवश्यक परेमा कर्मचारीले पूरा दिनको सट्टा केही घण्टाको मात्रै बिदा पनि लिन सक्ने व्यवस्था हुनेछ।
• Parental Leave पछि काममा फर्किने कर्मचारीले वार्षिक बिदाको भुक्तानी Reduced Rate मा होइन, सामान्य Leave Payment अनुसार पाउनेछन्।
• Casual Workers सहित सबै कर्मचारीले काम सुरु गरेको पहिलो दिनदेखि नै शोक (Bereavement) वा पारिवारिक हिंसा (Family Violence) जस्ता विशेष परिस्थितिमा बिदा पाउने अधिकार राख्नेछन्।
• कर्मचारीले आफ्नो Annual Leave Balance को २५ प्रतिशतसम्म नगद (Cash) मा परिवर्तन गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसबाट धेरै बिदा सञ्चित भएका कर्मचारीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
• जहाँ रोजगार सम्झौतामा Standard Working Hours वा Standard Working Days स्पष्ट उल्लेख गरिएको छैन, त्यहाँ रोजगारदाता र कर्मचारीले आपसी सहमतिमा बिदासम्बन्धी व्यवस्था तय गर्नुपर्नेछ।
यदि यो विधेयक संसदबाट पारित भयो भने, न्युजिल्याण्डको बिदा प्रणालीमा सन् २००३ यताकै सबैभन्दा ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ।