न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाखभन्दा बढी ठगी गर्ने अमृत मगर पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १० लाखभन्दा बढी ठगी गर्ने अमृत मगर पक्राउ

   July 23, 2026  

वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभन देखाई १० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा अमृत मगर पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सिन्धुली सुनकोशी गाउँपालिका–२ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–५ बस्ने ४७ वर्षीय अमृत मगरले न्युजिल्याण्ड पठाइदिने भन्दै एक जनाबाट रु. १० लाख ७० हजार रकम ठगी गरेका थिए।

पीडितलाई आकर्षक तलबको प्रलोभनमा पारेर न्युजिल्याण्ड पठाइदिने आश्वासन दिएपछि सम्पर्कविहीन भई फरार रहेका मगरलाई प्रहरीले ललितपुर महानगरपालिका–५ बाट २०८३ साउन ५ गते पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।