मोदी नभेटेका पिटर्सले फिलिपिन्समा भारतीय विदेशमन्त्रीसँग गरे भेट – New Zealand News Nepal (NZ News Nepal)

मोदी नभेटेका पिटर्सले फिलिपिन्समा भारतीय विदेशमन्त्रीसँग गरे भेट

   July 23, 2026  

न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले फिलिपिन्सको राजधानी मनिलामा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। आसियान (ASEAN) विदेशमन्त्रीस्तरीय बैठकको अवसरमा भएको उक्त भेटमा दुवै नेताबीच इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा, द्विपक्षीय सम्बन्ध, व्यापार, समुद्री सहकार्य तथा क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको छ।

यसअघि जुलाईको सुरुआतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युजिल्याण्डको औपचारिक भ्रमणमा आएका थिए। सो क्रममा प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग उच्चस्तरीय भेटवार्ता भए पनि विदेशमन्त्री विन्स्टन पिटर्स भने विदेश भ्रमणमा रहेकाले मोदीसँग उनको भेट हुन सकेको थिएन। त्यसैले मोदीसँग प्रत्यक्ष भेटको अवसर गुमाएका पिटर्सले अहिले फिलिपिन्समा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेट गरी दुई देशबीचका साझा चासोका विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा विदेशमन्त्री जयशंकर र पिटर्सले भारत–न्युजिल्याण्ड सम्बन्धलाई थप मजबुत बनाउने, आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्ने, शिक्षा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य बढाउने विषयमा विचार आदानप्रदान गरेका छन्। साथै इन्डो–प्यासिफिक क्षेत्रको शान्ति, सुरक्षा र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई सुदृढ बनाउन दुवै देशबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।