न्युजिल्याण्डको मौसम निकाय MetService ले देशका विभिन्न स्टेट हाइवे र पर्वतीय सडकहरूमा हिमपात हुने चेतावनी जारी गर्दै यात्रु तथा सवारी चालकलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमानअनुसार शुक्रबार रातिदेखि शनिबारसम्म डेजर्ट रोड, लुइस पास, आर्थर्स पास, पोर्टर्स पास, हास्ट पास, लिन्डिस पास, क्राउन रेन्ज रोड, मिल्फोर्ड रोड तथा डुनेडिन–वाइटाटी राजमार्ग लगायतका सडकहरूमा हिमपात हुने सम्भावना रहेको छ। केही स्थानमा ५ देखि १० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ।
सबैभन्दा बढी हिमपात मिल्फोर्ड रोड (SH94) को शिखर क्षेत्रमा हुने सम्भावना छ, जहाँ ५ देखि १० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने पूर्वानुमान छ। त्यसैगरी डेजर्ट रोड (SH1) र पोर्टर्स पास (SH73) मा पनि ३ देखि ५ सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने भएकाले सडक चिप्लो र जोखिमपूर्ण बन्न सक्ने बताइएको छ।
यस्तै लुइस पास (SH7), आर्थर्स पास (SH73), हास्ट पास (SH6), लिन्डिस पास (SH8), क्राउन रेन्ज रोड तथा डुनेडिन–वाइटाटी राजमार्ग (SH1) मा पनि हिमपातका कारण सडकमा हिउँ जम्ने र यात्रा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
मौसमविद्हरूले विशेषगरी शनिबार बिहान, दिउँसो र साँझ पर्वतीय मार्ग हुँदै यात्रा गर्नेहरूले मौसमको पछिल्लो जानकारी लिएर मात्र यात्रा गर्न, सवारीको गति कम राख्न, सुरक्षित दूरी कायम गर्न तथा आवश्यक परे हिउँका लागि उपयुक्त टायर वा स्नो चेन साथमा राख्न आग्रह गरेका छन्।
अधिकारीहरूले सडक अवस्था अचानक परिवर्तन हुन सक्ने भएकाले यात्रा अघि सम्बन्धित सडकको अवस्था र मौसमको अद्यावधिक जानकारी अनिवार्य रूपमा जाँच गर्न पनि सबैलाई अनुरोध गरेका छन्।


