न्युजिल्याण्डभर आज अत्याधिक चिसो, धेरै स्थानमा तापक्रम शून्य भन्दा तल – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डभर आज अत्याधिक चिसो, धेरै स्थानमा तापक्रम शून्य भन्दा तल

   July 27, 2026  

न्युजिल्याण्डभर आज बिहान कडा चिसो महसुस गरिएको छ। देशका अधिकांश स्थानमा तापक्रम एकल अंकमा सीमित रहँदा धेरै क्षेत्रमा शून्य डिग्रीभन्दा तल झरेको छ। रातभरकै सबैभन्दा कम तापक्रम माउन्ट कुकमा -8°C मापन गरिएको छ।

माउन्ट कुक नजिकैको पुकाकी (Pūkaki) मा तापक्रम -7°C पुगेको छ भने क्राइस्टचर्च मा बिहान -4°C रेकर्ड गरिएको छ। यो यस महिनाको सबैभन्दा कम तापक्रम -4.3°C (हिजो रेकर्ड गरिएको) नजिक पुगेको हो।

नर्थ आईल्याण्डमा पनि चिसो उत्तिकै कडा रह्यो। वाइउरु (Waiouru) मा तापक्रम -7°C मा झर्यो भने मास्टरटन मा -3.9°C र रोटोरुवा मा बिहान करिब ६ बजे -2°C मापन गरिएको छ।

सामान्यतया तुलनात्मक रूपमा न्यानो मानिने अकल्याण्डमा समेत चिसो बढेको छ। अकल्याण्डको केन्द्रमा बिहान तापक्रम 5°C रहेको थियो भने पश्चिम अकल्याण्डका केही क्षेत्रमा 2°C सम्म झरेपछि तुसारो देखिने अवस्था बनेको छ।

बिहान ८ बजेसम्म न्युजिल्याण्डभरका सबै स्थानको तापक्रम एकल अंकमा रहेको थियो। साउथको ट्विजेलदेशकै सबैभन्दा चिसो स्थान बनेको छ, जहाँ तापक्रम -7°C छ। यता चाथम आइल्याण्ड्स सबैभन्दा न्यानो स्थान रहँदै 8.4°C पुगेको थियो। मुख्य भूभागमा भने कैताइआ (Kaitaia) सबैभन्दा न्यानो सहरका रूपमा 7.7°C तापक्रम रेकर्ड गरिएको छ।

मौसमविद्हरूले देशका धेरै भागमा बिहान तुसारो जम्ने, सडक चिप्लिने तथा केही स्थानमा बरफ जम्न सक्ने भएकाले विशेष गरी बिहान सबेरै यात्रा गर्ने चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।