रुसले न्युजिल्याण्डका लागि जासुसी गरेको आरोपमा एक रुसी नागरिकलाई पक्राउ गरेको जनाएको छ। रुसको संघीय सुरक्षा सेवा (FSB) ले जारी गरेको विज्ञप्तिअनुसार १९७१ मा जन्मिएका खाबारोभ्स्क निवासी ती व्यक्तिविरुद्ध देशद्रोह (ट्रिजन) सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
FSB का अनुसार ती व्यक्तिले आफ्नै पहलमा न्युजिल्याण्डको सुरक्षा गुप्तचर संस्था (NZSIS) सँग सम्पर्क स्थापित गरेका थिए। विदेशी इमेल सेवा र मेसेजिङ प्लेटफर्ममार्फत रुसको राष्ट्रिय सुरक्षाविरुद्ध प्रयोग हुन सक्ने सूचना NZSIS लाई पठाएको आरोप लगाइएको छ।
रुसका न्युजिल्याण्डस्थित राजदूत स्तानिस्लाभ क्रान्सले RNZ सँग कुरा गर्दै ती व्यक्तिले NZSIS लाई जानकारी उपलब्ध गराएको दाबी गरेका छन्। उनका अनुसार उक्त सूचना रुसको सुरक्षाविरुद्ध प्रयोग हुन सक्ने प्रकृतिको थियो र घटनाबारे अनुसन्धान जारी छ।
यता NZSIS ले भने यस विषयमा कुनै पुष्टि वा खण्डन गर्न अस्वीकार गरेको छ। RNZ लाई दिएको प्रतिक्रियामा संस्थाका प्रवक्ताले “सञ्चालनसँग सम्बन्धित हुन सक्ने वा नहुन सक्ने विषयमा टिप्पणी नगर्ने हाम्रो दीर्घकालीन नीति रहेको” बताएका छन्।
न्युजिल्याण्डको गुप्तचर प्रणाली अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियासँग मिलेर बनेको ‘फाइभ आइज’ (Five Eyes) गुप्तचर साझेदारीको सदस्य हो।
FSB ले पक्राउ परेका व्यक्तिविरुद्ध रुसको फौजदारी संहिताको धारा २७५ (देशद्रोह) अन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ। उनलाई हाल हिरासतमा राखिएको छ। रुसमा देशद्रोहको अभियोग प्रमाणित भए आजीवन कारावाससम्मको सजाय हुन सक्छ।
रुसी सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीहरूले सडकबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएर हतकडी लगाएको तथा उनको घरमा खानतलासी गरेको देखाइएको छ। तर, उक्त भिडियो र आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
यस विषयमा न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्स र गुप्तचर निकाय हेर्ने मन्त्री क्रिस पेन्कले पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पेन्कले गुप्तचर सञ्चालनसम्बन्धी विषयमा सरकारले पुष्टि वा खण्डन नगर्ने पुरानै नीति रहेको बताएका छन्।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि आफूले समाचार देखेको भए पनि सुरक्षा तथा गुप्तचरसम्बन्धी विषयमा टिप्पणी नगर्ने भन्दै थप जानकारीका लागि NZSIS सँग सम्पर्क गर्न आग्रह गरेका छन्।
NZSIS का प्रवक्ताले रूसी सरकारी सञ्चारमाध्यमहरू सधैं तथ्यपरक र भरपर्दो सूचना स्रोत नहुन सक्ने टिप्पणी पनि गरेका छन्।
हालसम्म रुसले लगाएको आरोपबारे कुनै स्वतन्त्र अन्तर्राष्ट्रिय निकायबाट पुष्टि भएको छैन, र न्युजिल्याण्ड सरकारले पनि आरोप स्वीकार वा अस्वीकार गरेको छैन।


