अकल्यान्डमा १० वर्षयताकै उच्च फ्लुजन्य बिरामी अस्पताल भर्ना

50 Shares

अकल्यान्डमा फ्लु तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या १० वर्षयताकै उच्च स्तरमा पुगेको छ।

अगस्ट ९ देखि १६ सम्मको एक सातामा अकल्यान्डका चार अस्पतालमा गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण १७७ जना भर्ना भएका छन्। अघिल्लो साता यो संख्या १२५ थियो।

 

PHF Science का अनुसार यो सन् २०१५ यताकै अकल्यान्ड अर्थात् तामाकी माकाउराउ क्षेत्रमा एक सातामा देखिएको सबैभन्दा उच्च अस्पताल भर्ना दर हो।

 

PHF Science की सार्वजनिक स्वास्थ्य चिकित्सक डा. हाना कुपरले यसपटकको फ्लु सामान्यभन्दा बढी गम्भीर नभए पनि समुदायमा यसको संक्रमण निकै फैलिएको बताइन्। उनका अनुसार पछिल्लो एक सातामा बिरामीको संख्या तीव्र रूपमा बढेको छ र यसले स्वास्थ्य सेवामा ठूलो दबाब सिर्जना गरेको छ।

 

SARI सम्बन्धी तथ्यांक अकल्यान्डका केही अस्पतालमा ज्वरोसहित फ्लुजस्ता लक्षण लिएर आउने बिरामीको निगरानीमा आधारित हुन्छ। त्यसैले वास्तविक रूपमा फ्लु, RSV र कोभिडका कारण बिरामी हुनेको संख्या अझ बढी हुन सक्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ।

 

यस वर्ष फ्लुसँगै RSV र rhinovirus जस्ता अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमण पनि व्यापक रूपमा फैलिरहेका छन्। यी सबै संक्रमण एकै समयमा बढ्दा अस्पताल, एम्बुलेन्स, जीपी र अन्य स्वास्थ्य सेवामा असाधारण चाप परेको छ।

 

PHF Science का अनुसार Healthline मा आउने फोन पनि बढेका छन्। यस वर्षको संख्या सन् २०२३, २०२४ र २०२५ को यही समयको तुलनामा बढी छ। अधिकांश फोन सेन्ट्रल क्षेत्रबाट आएका छन्।

 

त्यस क्षेत्रका केही अस्पतालमा आपत्कालीन विभागमा बिरामीले १७ घण्टाभन्दा बढी समय कुर्नुपरेको रिपोर्ट समेत आएको छ। हक्स बे क्षेत्रमा पनि शीतकालीन रोगका कारण स्वास्थ्य सेवामा चाप बढेपछि अस्पताल जाने बिरामीलाई सम्भव भएसम्म एक जना मात्र सहयोगी व्यक्ति साथमा ल्याउन आग्रह गरिएको छ।

 

तथ्यांकअनुसार अस्पताल भर्ना हुनेमा ० देखि ४ वर्ष उमेर समूह सबैभन्दा धेरै छ भने त्यसपछि ६५ वर्षभन्दा माथिका मानिसहरू छन्। सन् २०२६ मा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण आईसीयूमा भर्ना हुनेमा पनि शिशु तथा साना बालबालिका प्रमुख समूह बनेका छन्।

 

हाल समुदायमा फैलिएको फ्लुमा Influenza A H3N2 सबैभन्दा बढी देखिएको छ। डा. कुपरका अनुसार यसको एउटा प्रकारलाई ‘Subclade K’ भनिन्छ, जुन यस वर्षको सुरुवातमा युरोपमा ठूलो फ्लु प्रकोपसँग जोडिएको थियो।

 

उनका अनुसार भाइरसमा समयसँगै परिवर्तन हुँदै जाँदा मानिसको शरीरमा अघिल्ला वर्षको संक्रमणबाट बनेको प्रतिरोधात्मक क्षमता कम प्रभावकारी हुन सक्छ। तर दक्षिणी गोलार्धका लागि यस वर्षको फ्लु खोपमा Subclade K लाई लक्षित गरिएको र हालसम्म प्रयोगशालामा परीक्षण गरिएका भाइरससँग खोपको राम्रो मेल देखिएको छ।

 

यसबीच, पछिल्लो एक सातामा न्युजिल्याण्डमा झन्डै ६ हजार थप मानिसले फ्लु खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अगस्टको सुरुवातमा ५,३२८ जनाले खोप लगाएका थिए भने त्यसअघि एक सातामा ७,०७६ जनाले खोप लगाएका थिए।

 

क्यान्टरबरी विश्वविद्यालयका गणित तथा तथ्यांकशास्त्रका प्राध्यापक माइकल प्लांकले न्युजिल्याण्डमा फ्लु संक्रमणको दर तीव्र रूपमा बढेको बताएका छन्। उनका अनुसार पछिल्लो पटक यति उच्च स्तरका फ्लु सूचक सन् २०२२ मा देखिएका थिए।

 

उनले संक्रमण बढ्ने वर्तमान गति कायम रहे आगामी केही सातामा सन् २०२२ को उच्च बिन्दु समेत पार गर्न सक्ने सम्भावना रहेको बताए। तर वसन्त ऋतु सुरु भएसँगै संक्रमणको स्तर क्रमशः घट्ने अपेक्षा गरिएको छ।

 

प्राध्यापक प्लांकले हाल प्रयोग भइरहेको फ्लु खोप फैलिरहेको भाइरससँग राम्रोसँग मेल खाएको देखिएको भन्दै योग्य व्यक्तिलाई फ्लु खोप लगाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै