न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले नेपालको रसुवा जिल्ला तथा नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
विदेशमन्त्री पिटर्सले विपद्बाट प्रभावित सबैप्रति न्युजिल्याण्ड सरकारका तर्फबाट समवेदना व्यक्त गर्दै उद्धार तथा राहतका विषयमा नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्।
उनले विपद्मा न्युजिल्याण्डका नागरिकसमेत प्रभावित भएको हुन सक्ने भन्दै उनीहरूको अवस्थाबारे नेपाली अधिकारीहरूसँग जानकारी लिइरहेको बताएका छन्।
नेपालमा रहेका सबै न्युजिल्याण्डका नागरिकलाई स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न, आफू सुरक्षित रहेको जानकारी परिवार तथा साथीभाइलाई गराउन र आवश्यक सावधानी अपनाउन विदेशमन्त्री पिटर्सले आग्रह गरेका छन्।
कन्सुलर सहायता आवश्यक परेमा न्युजिल्याण्डको विदेश मन्त्रालय (MFAT) को २४ घण्टा उपलब्ध आपत्कालीन नम्बर +64 99 20 20 20 मा सम्पर्क गर्न सकिने जनाइएको छ।
नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोले विभिन्न क्षेत्रमा जनधनमा क्षति पुर्याइरहेका बेला न्युजिल्याण्ड सरकारले घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।