‘नेपालको घटनाबाट पाठ सिकौँ’: मिल्फोर्ड साउन्डमा सुनामी जोखिमका लागि तयारी गर्न मेयरको आग्रह

28 Shares

न्युजिल्याण्डको साउथल्याण्डका मेयर रोब स्कटले नेपालमा हालै गएको विनाशकारी हिमाली बाढीबाट पाठ सिक्दै मिल्फोर्ड साउन्डमा सुनामीको सम्भावित जोखिमका लागि व्यवहारिक तयारी गर्नुपर्ने बताएका छन्।

नेपालमा हिमताल तथा हिमनदी भत्किएर आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार नाघिसकेको छ भने करिब ४ हजार ५०० जना अझै बेपत्ता रहेको रिपोर्टहरूमा उल्लेख छ। हिमनदी पग्लिने वा भत्किने, जलवायु परिवर्तन, ठूलो मात्रामा पहिरो र सुनामीको सम्भावना न्युजिल्याण्डका केही क्षेत्रमा पनि जोखिमका रूपमा देखिएका छन्।

इमर्जेन्सी म्यानेजमेन्ट साउथल्याण्डको नयाँ रिपोर्टले मिल्फोर्ड साउन्ड वरपरका ठाडा पहाडबाट ठूलो पहिरो खसेर पानीमा पुगेमा त्यसले सुनामी उत्पन्न गर्न सक्ने जोखिम औंल्याएको छ। विगतमा पनि यस क्षेत्रमा ठूला पहिरो गएको र भविष्यमा अल्पाइन फल्टमा आउने शक्तिशाली भूकम्पले त्यस्ता पहिरो निम्त्याउन सक्ने रिपोर्टमा उल्लेख छ।

यस्तो घटना भएमा मिल्फोर्ड साउन्डका पर्यटक तथा बस्ती रहेका क्षेत्रमा केही मिनेटमै सुनामी पुग्न सक्ने जोखिम रहेको बताइएको छ। छोटो प्रतिक्रिया समय र सीमित सुरक्षित स्थानतर्फको निकासी मार्गलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ।

साउथल्याण्डका मेयर रोब स्कटले न्युजिल्याण्डका लागि नेपालमा भएको विपत्तिले ठूलो चेतावनी दिएको बताएका छन्। उनले मिल्फोर्ड साउन्डमा यस्तै प्रकृतिको घटना भए त्यो न्युजिल्याण्डकै सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक बन्न सक्ने चेतावनी दिए।

“सबैलाई त्यहाँ आकर्षित गर्ने कुरा नै सबैभन्दा ठूलो जोखिम हो,” उनले भनेका छन्।

मेयर स्कटका अनुसार मिल्फोर्ड साउन्डको प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षणका कारण ठूलो संख्यामा मानिस त्यहाँ पुग्ने भएकाले सम्भावित सुनामी वा पहिरोको जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी र आपत्कालीन निकासी योजना थप प्रभावकारी बनाउन आवश्यक छ।

सम्बन्धित समाचार

सबै