लेबर पार्टीका नेता तथा न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री क्रिस हिप्किन्सले नेपालमा पछिल्ला दिनहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
हिप्किन्सले नेपालमा बाढीका कारण धेरै परिवारले आफ्ना प्रियजन गुमाएको, धेरै मानिस अझै आफ्ना आफन्तको खबरको प्रतीक्षामा रहेको र समुदायहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै दुःख व्यक्त गरेका छन्।
उनले उद्धार तथा राहतमा खटिएका आपत्कालीन सेवा, उद्धार टोली, स्वयंसेवक र स्थानीय समुदायको अथक प्रयासको प्रशंसा गर्दै विपद्को यस कठिन घडीमा आफ्नो विचार र साथ नेपाली समुदायसँग रहेको बताएका छन्।
“न्युजिल्याण्ड र नेपालबीच पुस्तौँदेखि विशेष सम्बन्ध रहँदै आएको छ। आज पनि न्युजिल्याण्डभरि रहेको नेपाली समुदायमार्फत यो सम्बन्ध अझ बलियो बनेको छ। यस्ता कठिन क्षणहरूमा यी सम्बन्धहरूको महत्व अझ बढ्छ,” हिप्किन्सले भनेका छन्।
उनले अन्त्यमा नेपाली समुदायलाई कठिन परिस्थितिमा बलियो रहन आग्रह गरेका छन्।