नर्थ आईल्याण्डको Bay of Plenty क्षेत्रको Rotorua मा रहेको स्वामी नारायण मन्दिर अब हफ्तामा एक दिन मात्र खुल्ने भएको छ । सुरक्षा र पूजारीको अभाव भएपछि मन्दिर अब आईतबार मात्र खुल्ने मन्दिरका संयोजक बिजय पटेलले जानकारी दिएका छन् । पटेलका अनुसार मन्दिरमा अपराधिक तथा अपवित्रकारी कार्य बढेको र मन्दिरमा रहेका पूजारी पनि अर्कै ठाउँ गएकाले पूजारीको अभाव र सुरक्षाका कारण मन्दिर खुल्ने दिन र समय परिवर्तन गरिएको हो । मन्दिरमा दर्शन गर्न आउनेहरुको जुत्ता चप्पल हराउने, मन्दिरमा केही समय अघि अज्ञात समुहले कुहिएको खानेकुरा र अण्डा फ्याकेको र मन्दिर परिसरमा लगाईएको सि सि टि.भी क्यामेरा पनि चोरी भएको लगायतका अपराधिक र अपवित्रकारी कार्य बढे पछि मन्दिरलाई हफ्ता भर बन्द गरेर एक दिन आईतबार मात्र खोल्ने निर्णय गरिएको संयोजक पटेलले जानकारी दिए । सन् २०१५ मा स्थापना भएको स्वामी नारायण मन्दिर यस अघि सोमबार देखि शुक्रबार सम्म बिहान ८ देखि ११:३० सम्म र दिउँसो ४ देखि राती ८ बजे सम्म खुल्ला हुन्थ्यो । अब भने मन्दिर आईतबार दिउँसो ३ बजे देखि राती ८ बजे सम्म मात्र खुल्ने छ । स्वामी नारायण मन्दिर Rotorua मा रहेका हिन्दूहरुको लागि प्रसिद्द मन्दिर मानिन्छ ।


