ब्रेकिङ न्युज: महारानी एलिजाबेथको निधन, प्रधानमन्त्री जसिन्डाद्वारा दु:ख व्यक्त – New Zealand News Nepal (NZ News Nepal)

ब्रेकिङ न्युज: महारानी एलिजाबेथको निधन, प्रधानमन्त्री जसिन्डाद्वारा दु:ख व्यक्त

   September 9, 2022  

महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्।  उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुन् भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गरिन्। एलिजाबेथ त्यो समय बेलायतकी महारानी बनेकी थिइन्, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए। महारानीका रूपमा एलिजाबेथले ती सबै चुनौती डटेर सामना गरिन्। उनले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिन् र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राखिन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।  राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको छ। यसै बिच महारानीको मृत्‍युको खबरले आफु दुखि भएको प्रधानमन्त्री जसिन्डा आर्डेनले बताएकी छिन् ।