महारानी एलिजाबेथको निधन पछि अब बेलायतको मात्र नभएर रानीले शासन गर्ने १४ अन्य मुलुकको भविष्य के होला भन्ने चर्चा सुरु भएको छ । ७० वर्ष सम्म शासन गरेकी महारानीको निधन सँगै उनको कार्यकाल समाप्त भएर नयाँ राजा नियुक्त भईसकेका छन् । बेलायतमा राजाको शासन जारी रहे पनि, बेलायत कै सम्राटले हेर्ने १४ अन्य मुलुकमा भने गणतन्त्रको चर्चा सुरु भएको छ । त्यस्मा न्युजिल्याण्ड पनि छ । न्युजिल्याण्डमा रानी एलिजाबेथले ७३ वर्ष शासन गरिन् । अब रानीको निधन भएपछि यही मौकामा देशलाई गण्तान्त्रिक बनाउन धेरैले सुझाव दिएका छन् । रानीको निधनले न्युजिल्याण्डमा राजतन्त्रको भविष्यलाई लिएर बहस सुरु भएको छ। यसअघि गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएका नेताहरुले यसबारेमा जनमतसंग्रह गर्न माग गरेका छन् । उता प्रधानमन्त्री जसिन्डा आर्डेनले भने न्युजिल्याण्डलाई तत्काल गणतान्त्रिक मुलुक बनाउने योजना नरहेको बताएकी छिन् । गत सोमबार पत्रकारहरु सँग कुरा गर्दै प्रधानमन्त्रीले रानीको निधन र देशलाई गण्तान्त्रिक बनाउने कुरालाई सँगै जोड्न नहुने बताएकी छिन् । ‘ त्यो बिषयलाई एजेन्डाको रुपमा हेर्नु हुँदैन’, प्रधानमन्त्रीले भनिन् । उनले आफ्नै जीवनकालमा न्युजिल्याण्डमा गणतन्त्र आउने समेत विश्वास गरिन् । यस अघि सन् २०२१ मा पनि प्रधानमन्त्रीले देशमा केही वर्षमा गणतन्त्र स्थापित हुने बताएकी थिईन ।


