न्युजिल्याण्डको अकल्याण्ड र संयुक्त राज्य अमेरिकाको न्युयोर्कबिच आजबाट सिधा हवाई उडान सुरु हुँदै छ । आज शनिबार दिउँसो ४ बजे Flight No. NZ2 को बिमान अकल्याण्डबाट न्युयोर्कको लागि उड्ने छ । एयर न्युजिल्याण्डको बोइङ 797-9 ले अकल्याण्डबाट न्युयोर्कको उडान १६ घण्टा १५ मिनेटमा तय गर्ने छ । यो न्युजिल्याण्ड र न्युयोर्कबिचको पहिलो सिधा उडान हो । उडानले १४ हजार २ सय १५ किलोमिटरको यात्रा गर्ने छ भने उडानमा २७३ जना यात्रु र १७ जना चालक दलका सदस्य रहने छन् । आज बाट सुरु भएको उडान हफ्तामा ३ दिन हुने छ । हरेक साता सोमबार, बिहीवार र शनिबार अकल्याण्डबाट न्युयोर्कको लागि बिमान प्रस्थान गर्ने छ ।
यसअघि प्रधानमन्त्री जसिन्डा आर्डेनले अकल्याण्ड र न्युयोर्कबिचको पहिलो सिधा उडान उद्धघाटन गर्ने र सोही बिमानमा प्रधानमन्त्री अमेरिका जाने कार्यक्रम रहेको थियो । तर महारानी एलिजाबेथको निधन भएपछि प्रधानमन्त्री यसअघि नै बेलायत पुगेकी छिन् । अब प्रधानमन्त्री बेलायतबाटै न्युयोर्क पुग्ने छिन् ।


