कांग्रेस-माओवादी आलोपालो सरकार: प्रचण्डको प्रस्ताव- ‘पहिलो कार्यकाल म चलाउँछु’ – New Zealand News Nepal (NZ News Nepal)

कांग्रेस-माओवादी आलोपालो सरकार: प्रचण्डको प्रस्ताव- ‘पहिलो कार्यकाल म चलाउँछु’

   December 6, 2022  

सरकार गठनका लागि गठबन्धनलाई बहुमत जुटाउन सहज देखिए पनि प्रधानमन्त्री को बन्ने भन्ने विषय सजिलै टुंगिने देखिँदैन। ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्रीमा दाबी गर्दैछन्। उनलाई उनकै पार्टी भित्र बाट महामन्त्री गगन थापालगायतले संसदीय दलको नेता चयनमै चुनाैती दिँदैछन्।  उनी संसदीय दलको नेता चयन भए पनि प्रधानमन्त्री बन्न भने सहज छैन। किन भने सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन्।  प्रचण्डले आलोपालो प्रधानमन्त्री हुनुपर्ने र पहिलो कार्यकाल सरकारको नेतृत्व आफूले गर्ने संकेत दिएका छन्। सोमबार बिहान आफूसँग भेट गर्न खुमलटार पुगेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारको पहिलो कार्यकाल आफूले सम्हाल्ने सन्देश प्रचण्डले दिएका हुन्।  ‘अध्यक्ष कमरेडले पहिलो कार्यकाल आफूले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ। पहिलेदेखि नै गठबन्धन भएको नाताले हाम्रो दाबी स्वभाविक हो,’ प्रचण्ड निकट एक नेताले भने।  यस्तै गत मंसिर १५ गते सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भनेका थिए, ‘यही गठबन्धनलाई कायम राखेर अघि बढ्ने हो। पहिलो प्रधानमन्त्री भने मै बन्ने हो।’

कांग्रेस सकारात्मक

नेपाली कांग्रेसभित्र प्रचण्डलाई पहिला प्रधानमन्त्री दिनुपर्छ भन्नेमा एकमत हुने संभावना देखिँदैन। यद्यपी सभापति शेरबहादुर देउवा नै यस विषयमा लचक हुनसक्ने संकेत देखिएको छ।  देउवा निकट नेताहरू सरकारको नेतृत्वमा माओवादी केन्द्रको दाबीलाई स्वभाविक मान्छन्। कांग्रेस सांसद राजन केसी गठबन्धन गरेर निर्वाचनमा झण्डै बहुमत आएको उल्लेख गर्दै ‘पावर सेयरिङ’ गरेर जानुपर्ने बताउँछन्।

नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पनि माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएको बताए। उनले भने, ‘डेढ वर्षदेखि गठबन्धन गरेर सरकारको सहयात्री रहेको दलले प्रधानमन्त्रीमा दाबी गर्नु स्वभाविक हो। गठबन्धनको दोस्रो ठूलो दलको हैसियतले यसलाई नकारात्मक रुपले हेरिनु हुन्न। पावर सेयरिङ गरेर जानुपर्छ। प्रचण्ड र देउवाजीले आलोपालो सरकार चलाउनुपर्छ।’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी भने प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी सौदाबाजी मात्रै भएको दाबी गर्छन्।

‘कांग्रेस ठूलो पार्टीको नाताले र गठबन्धनमा आबद्ध सबै दलहरूलाई सन्तुलित हिसाबले लैजान सक्ने क्षमता भएकोले सरकारमा हाम्रो दाबी रहन्छ। निर्वाचन परिणामको हिसाबले तेस्रो दल भएको नाताले माओवादीलाई सरकारको नेतृत्व गर्ने हैसियत रहँदैन। माओवादीको यो सौदाबाजी मात्रै हो।’