गठबन्धनतिर ढल्कियो लोसपा, गठबन्धनको सरकारमा जाने निर्णय, कति सिट छ लोसपाको ? – New Zealand News Nepal (NZ News Nepal)

गठबन्धनतिर ढल्कियो लोसपा, गठबन्धनको सरकारमा जाने निर्णय, कति सिट छ लोसपाको ?

   December 13, 2022  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको सरकारमा जाने निर्णय गरेको छ। सोमबार काठमाडौंमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनको सरकारमा जाने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए।  उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय पहिले नै भइसकेकाले यसलाई निरन्तरता दिने बताए।  ‘जसपा सरकारबाट बाहिरिएपछि हामीले गरेको समर्थन जारी छ। हामी गठबन्धनबाटै निर्वाचनमा गएका हौँ। अब पनि देउवाजीको नेतृत्वको सरकारमा हामी सहभागी हुन्छौं’,भण्डारीले भने।  उनले आफूहरूका माग पूरा गर्ने विषयमा यसअघि नै सरकार सकारात्मक रहेकाले अन्य विषयमा जानु उपयुक्त नहुने बताए। भण्डारीले सरकारमा भागबन्डाको विषयमा गठबन्धनभित्र हुने निर्णयलाई स्वीकार गरेर जाने पनि बताए।  ‘हामीले भागबन्डाको विषयमा निर्णय गरेका छैनौं। गठबन्धनभित्र जे छलफल र निर्णय हुन्छ सोही बमोजिम जान हामी तयार छौं’, उनले भने।  प्रतितिनिधसभामा प्रत्यक्षतर्फ ४ सिट जितेको लाेसपाले ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसक्दा राष्ट्रिय पार्टीकाे मान्यता प्राप्त गर्न सकेन।