नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई शपथ खुवाएकी हुन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन्। यस्तै, एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राई मन्त्री बनेका छन्। प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा पौडेल नियुक्त भएका छन्। साथै जननमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ।


