पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।
दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। ’३० वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’
मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए। अहिलेसम्म कोही पनि जीवित नभेटिएको उनले बताए। जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।


