प्रचण्ड सरकारमा को – को बन्दै छन् मन्त्री ? – New Zealand News Nepal (NZ News Nepal)

प्रचण्ड सरकारमा को – को बन्दै छन् मन्त्री ?

   January 17, 2023  

 सरकारमा सहभागी दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङग्याएको छ। नेकपा एमालेले ५ वटा मन्त्रालयमा आफ्ना सांसदको नाम अगाडि सारेको छ। परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्य मन्त्रालयमा पदम गिरी, त्यस्तै अन्य दुई मन्त्रालयको लागि सांसद भगवती चौधरी र हरि उप्रेतीको नाम अगाडि सारेको छ। भगवती कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै सांसदमा निर्वाचित भएकी थिइन्।

त्यस्तै सरकारको नेतृत्व गरिरहेको माओवादीले पनि तीन जनालाई मन्त्री बनाउँदैछ। सुचना तथा सञ्चार मन्त्रालयमा सांसद रेखा शर्माको नाम पठाइएको छ। शर्मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै सांसद बनेकी हुन्। त्यस्तै संस्कृति तथा पर्यटन मन्त्रालयमा सांसद सुदन किराँती र अमनलाल मोदीलाई सामान्य प्रशासन मन्त्रालय दिएको छ। यसअघि माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधर मन्त्रालय नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बनाउने सांसदहरुको नाम तय गरेको छ।

गठबन्धनमा भएको भागबन्डाअनुसार रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएका छ। जसअनुसार पार्टी सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनिसकेका छन्।

रास्वापाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। पार्टीले शिक्षा मन्त्रीमा शिशिर खनाललाई जिम्मेवारी दिन लागेको छ। त्यस्तै श्रम मन्त्रीको जिम्मेवारी भने डोलप्रसाद अर्यालले पाउने भएका छन्। टिच फर नेपालका संस्थापक खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी सांसद हुन्। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसायमा संलग्न हुँदै आएका डोलप्रसाद अर्याल समानुपातिका सांसद हुन्। अर्याल इजीलिंक रेमिट्यान्सका सिइओ हुन्।

रास्वपाले स्वास्थ्य राजमन्त्री पनि पाएको छ। डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने पक्का भएको छ। कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद बनेकी हुन्। रास्वापाले प्रतिनिधिसभाको उपसभामुख पदसमेत पाउने भएको छ।

राष्ट्रिय प्रजातन्त्रिक पार्टी ( राप्रपा) पनि सरकारमा जाने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा पार्टी सरकारमा जान लागेको लिङदेन उपप्रधानसहित उर्जा मन्त्रालय पाएका छन्। त्यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्ने लागेका हुन्। सांसद विक्रम पाण्डे  सहरी विकासमन्त्री बन्दै छन्।