सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घिमिरेको प्रस्तावक तथा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा उर्जामन्त्री जेन्द्र लिङ्देन समर्थक छन्।
कांग्रेसबाट भने ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गरेकी छिन्। न्यौपानेेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्।
सत्तामा रहेकै दलहरुको बहुमत भएकाले घिमिरे सभामुख हुने निश्चित छ। प्रतिनिधि सभामा रहेका २७५ जना सांसद मध्ये बहुमतका लागि १३८ जना सांसद आवश्यक पर्छ। सत्तामा रहेका दलहरुको प्रतिनिधि सभामा १४५ जना सांसद छन्। एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४ गरी १४५ जना सत्तामै रहेका दलको बहुमत पुग्छ। न्यौपानेको पक्षमा सत्ता बाहिर रहेका दलहरुको मोर्चाबन्दी बने १३० मत आउने देखिन्छ। तर त्यसका लागि स्वतन्त्र सांसदहरुले समते कांग्रेस गठबन्धनको पक्षमा मत हाल्नुपर्ने छ।
सभामुखको निर्वाचन भोली हुँदै छ ।


