न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले राजिनामा दिने घोषणा गरेकी छिन् । जसिन्डाले आउँदो फेब्रुअरी ७ तारिक देखि लागु हुने गरि राजिनामा दिएको बताएकी छिन् । सन् २०१७ मा प्रधानमन्त्रीको पदमा निर्वाचित भएकी आर्डेनले आफ्नो दोस्रो कार्यकालको समयावधी सकिन ८ महिना बाँकी रहदै पदबाट राजिनामा दिएकी हुन् ।
उनको साढे ५ वर्षको कार्यकाल भने त्यती सजिलो थिएन । क्राईसचर्चमा भएको आतंकी हमला, देशमा बढिरहेको अपराधीक कृयाकलाप, कोभिड १९ मा खेलेको भूमिका, आप्रवासीहरुका लागि ल्याएको स्थाइ बसोबास सेवा, बैदेशिक निती लगायतका क्षेत्रमा जसिन्डाको कार्यकाल सम्झना लायक रहेको थियो ।
सन् १९८० जुलाई २६ तारिकका दिन ह्यामिल्टनमा जन्मेकी जसिन्डा आर्डेन १७ वर्षको उमेरमा नै लेबर पार्टी प्रवेश गरेकी थिईन् । सन् १९९९ मा उनले लेबर पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिईन् । उनी सन् २००५ मा २ वर्षका लागि बेलायत गईन् । सो क्रममा उनले तत्कालिन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरको लण्डन स्थित कार्यालयमा काम समेत गरिन् ।
जसिन्डाको संसदिय यात्रा भने सन् २००८ बाट सुरु भएको थियो। मार्च ८ सन् २००८ मा उनी सांसदको रुपमा नियुक्त भएकी थिईन् । त्यो बेला उनलाई लेबर पार्टीले समानुपातिक सुचीबाट सांसद बनाएको थियो । सन् २०१७ मा भने उनी आँफै चुनाव लडेर माउन्ट अल्बर्ट निर्वाचन क्षेत्रबाट निर्वाचित बनेकी थिईन् । मार्चमा उनलाई लेबर पार्टीले दलको उपनेतामा चुनेको थियो । तत्कालिन दलको नेता एन्ड्रिउ लिटिलले राजिनामा दिएपछि जसिन्डा लेबर पार्टीको दलको नेता बनेकी थिईन् ।
सन् २०१७ अक्टोबरमा जसिन्डा देशको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएकी थिईन् । त्यो बेला उनलाई न्युजिल्याण्ड फर्स्टका ९ र ग्रिन पार्टीका ८ सांसदले समर्थन गरेका थिए । लेबरले सन् २०१७ मा ४६ सिट मात्र पाएको थियो । अन्य दुई दलका १७ सांसदको समर्थन पाएर जसिन्डा प्रधानमन्त्री बनेकी थिईन् ।
उनको पहिलो कार्यकाल भने सन् २०२० मा सकिएको थियो । तर लेबर पार्टी एक्लैले सन् २०२० मा बहुमत ल्याए पछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिईन् । उनलाई दोस्रो पटकको प्रधानमन्त्री बनाउन ग्रिन पार्टीले समर्थन गरेको थियो ।
दोस्रो कार्यक्राल सकिन ८ महिना बाँकी रहदै प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेकी हुन् ।