न्युजिल्याण्डमा सताब्दी कै खतरनाक आँधी: विद्युत्, उडान र यातायात अवरूद्ध, व्यापक भौतिक क्षति

314 Shares

न्युजिल्याण्डको उत्तरी भाग नर्थ आईल्याण्डमा आएको चक्रवात आँधीका कारण हालसम्म हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । तीब्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक भौतिक क्षति व्यहोर्नुपरेको  छ । आँधीको अवस्था सुरूमा भन्दा कमजोर भएपनि यसले बिभिन्न शहर तथा ग्रामीण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पुर्‍याएको छ र विद्युत लाइन अवरूद्ध भएका छन् । अकल्याण्डसहित देशभर हाल आपतकालीन अवस्था घोषणा गरिएको छ ।

आँधीमा परेर हालसम्म दुई जनाको ज्यान गएको न्युजहबले जनाएको छ । हक्सबेमा हिजो साझँ एक महिलाको शव भेटिएको छ । त्यस्तैअर्का एक जनाको पनि समुन्द्र तटमा शव भेटिएको न्युजहबले उल्लेख गरेको छ ।

आँधीको प्रभाव नर्थ आईल्याण्डको नर्थल्याण्ड, थेम्स, कोरोमन्डल, अकल्याण्ड, वे वफ प्लेन्टी, वाईकाटो, हक्स वे, गिसबर्न लगायतको क्षेत्रमा मुख्य रुपमा परेको छ । उता साउथमा भने आँधीको प्रभाव सामान्य परेको छ । साउथ आईल्याण्डको क्राइसचर्च, ब्लेनहिम, नेल्सन लगायतका ठाउँमा सामान्य मौसम बद्ली भएको छ । यि क्षेत्रमा समान्य वर्षा र हावा चलेपनि नर्थ आईल्याण्डको जस्तो प्रभाव पारेको छैन ।

नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले विद्युत् सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् ।“जबसम्म मौसम खराब रहन्छ, तबसम्म विद्युत् नेटवर्कमा काम गर्न  असुरक्षित हुन्छ ।” एक अधिकारीले बताए ।

अकल्याण्डमा गत महिना आएको बाढीका कारण चारजनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ ।

नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो । सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेको छ । प्रधानमन्त्री क्रिस हिप्किन्सले आँधीलाई सताब्दीकै खतरनाक आँधी भनेका छन् ।

मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ । उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् । एयर न्युजिल्यान्डले हालसम्म ५०९ उडान रद्द गरेको तर बुधबारबाट सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ । उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ ।

सम्बन्धित समाचार

सबै