नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो. अब्दुल खान छन्। समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे छन्।
२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लगेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए। १२ औं महाधिवेशनबाट उपसभापति बनेका पौडेलले कार्यवाहक सभापतिको हैसियतमा २०७२ सालमा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेका थिए।
पौडेलले राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म अनेक पटक गरी झण्डै १५ वर्ष जेल जीवन बिताएका छन्। उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भएर जेल परेका थिए। उनी कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोधमा कार्यक्रम गर्दा गिरफ्तार भएर २०२८ बाट २०३२ सम्म जेल परेका थिए।
पौडेल २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य निर्वाचित भइसकेका छन्। उनले स्थानीय विकासमन्त्री, कृषि तथा सहकारीमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, सञ्चारमन्त्री, जलस्रोत, शिक्षामन्त्री र उपप्रधान तथा शान्ति पुनःनिर्माणमन्त्री भएर सरकार सञ्चालनको अनुभव बटुलिसकेका छन्।
प्रतिनिधिसभाका पूर्वसभामुखसमेत रहेका पौडेल मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भइसकेका छन्।
उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जनबढी पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक तथा अनलाइन मिडियाहरूमा समसामयिक लेखहरु प्रकाशित छन्।
तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यस्थता गरेकाले उनलाई कांगे्रसभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छ।
सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका पनि निभाएका थिए। उनी १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार मध्येमा पनि पर्दछन्।
पौडेल ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार पनि मानिन्छन्।
पार्टी र सरकार दुवैतर्फ सर्वोच्च नेतृत्वमा पुग्न भने उनी असफल रहँदै आएका थिए। ०६७ सालमा प्रधानमन्त्रीका लागि उनले १७ पटक प्रतिस्पर्धा गरे। तर, सो पदमा उनी पुग्न सफल भएनन्। त्यस्तै पार्टी सभापतिको चुनाव पनि उनले हारे। त्यसैले कतिपयले उनलाई असफल नेताका रुपमा लिने गरेका थिए। तर, राजनीतिक जीवनको उत्तरार्धमा उनका लागि राष्ट्रप्रमुख पदको ढोका खुलेको छ।
२००१ असोज २९ गते तनहुँको मिलुङ्, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) मा आमा ऋषिमाया र बुबा दुर्गाप्रसादको कोखबाट मध्यमवर्गीय किसान परिवारमा जन्म भएको थियो। सविता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका पौडेलका तीन छोरी र एक छोरा छन्।
तनहुँको व्यास नपा–२ अमरापुरी बसोबास भएका नेता पौडेल काठमाडौँको बोहराटारमा बस्दै आएका छन्। उनले नेपाली साहित्यमा स्नाताकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन्


