नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अर्थात् शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । बुकिङ खुलेसँगै दर्शकको उत्साह यो फिल्ममाथि पाइएसँगै फिल्मलाई नेपालभरका मल्टिप्लेक्सले हालसम्म उच्च शोज उपलब्ध गराएका छन् ।
फिल्मले शुक्रवार बिहानैबाट देशभरका सबैजसो हलमा शतप्रतिशतको अकुपेन्सीमा डेढ करोडको कारोबार गरेको छ । आज शनिवार पनि फिल्मले सबैजसो शोजमा आक्रामक व्यापार गरेको छ । जसका कारण, फिल्मले रिलिजको दोस्रो दिन तीन करोडको हाराहारीमा व्यापार पुर्याएको छ । यसरी दुई दिनको व्यापार हेर्दा फिल्म ‘जारी’ले साढे चार करोड रुपैयाँ कमाउन सफल भएको छ ।
न्युजिल्याण्डमा पनि यो फिल्म प्रदर्शनमा आउने भएको छ । न्युजिल्याण्डको नेपलिज वरियर्स फूटबल क्लबले ‘जारी’लाई न्युजिल्याण्डमा प्रदर्शन गर्न लागेको हो । बे अफ प्लेन्टीको बे फेयरमा रहेको यूनाईटेड सिनेमामा आउदो अप्रिल २४ सोमबारका दिन चलचित्र प्रदर्शनमा आउँदै छ । त्यस्तै न्युजिल्याण्डको अन्य शहरमा पनि चलचित्र प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
यो फिल्म लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थका ठुले लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।



