नेपालमा र विश्व बिभिन्न देशमा सफलताका साथ प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘जारी’ न्युजिल्याण्डमा पनि प्रदर्शन भईरहेको छ । केही साता अगाडि नर्थ आईल्याण्डस्थित वे अफ प्लेन्टीको तउरङामा चलचित्र प्रदर्शनमा आएको थियो जहाँ चलचित्र हाउसफुल भएको थियो ।
त्यस्तै चलचित्र भोली अकल्याण्डमा प्रदर्शन हुँदै छ । अकल्याण्डको Avondale मा रहेको हलिवुड सिनेमाजमा भोली मे ६ तारिकका दिन पौने ४ बजे सुरु हुने छ । त्यस्तै साउथ आईल्याण्डको क्राईसचर्चमा चलचित्रको तीन सो प्रदर्शन हुने भएको छ । क्राईसचर्चको Lumiere Cinemas मा पहिलो सो गत २९ अप्रिल मा प्रदर्शन भयो भने दोस्रो सो पर्सी ७ मे आईतबार हुने बताईएको छ । आईतबार देखाईने सोको सम्पूर्ण टिकट बुक भएको छ । तेस्रो सो भने १५ मेमा देखाईने छ । दर्शकको माग भएकाले क्राईसचर्चमा जारीको ३ सो गर्न लागिएको हो ।
त्यस्तै साउथ आईल्याण्ड कै नेल्सनमा पनि ‘जारी’ प्रदर्शन हुँदै छ । नेल्सनमा अर्को साता मे १३ तारिकका दिन चलचित्र प्रदर्शनमा आउँदै छ ।
लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि चलचित्र निर्माण भएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थका ठुले लगायतका कलाकारको अभिनय छ । बाँसुरी फिल्मसको प्रस्तुति र कबड्डी फिल्मसको सहकार्य निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।


