आम निर्वाचन: प्रधानमन्त्रीको रुपमा २५ % ले रोजे हिप्किन्सलाई तर नेशलन ठुलो पार्टी बन्न सक्ने ! – New Zealand News Nepal (NZ News Nepal)

आम निर्वाचन: प्रधानमन्त्रीको रुपमा २५ % ले रोजे हिप्किन्सलाई तर नेशलन ठुलो पार्टी बन्न सक्ने !

   June 1, 2023  

वान न्युजले गरेको एक पोल अनुसार न्युजिल्याण्डमा आउँदै गरेको आम निर्वाचनमा लेबर भन्दा नेशनलले बढी मत ल्याउने देखिएको छ ।
पोलको अन्तिम नतिजा अनुसार नेशनलले ४७ सिट हासिल गर्ने छ भने लेबरले ४६ सिट जित्ने छ । एसिटीको १५ सिट आउने अनुमान गरिएको छ । यस्तोमा नेशनलले एसिटी सँग मिलेर नयाँ सरकार बनाउने सम्भावना रहेको पोलको नतिजाले देखाएको छ ।

उता ग्रिन पार्टीले ९ सिट र माओरी पार्टीले ३ सिट जित्न सक्ने पोलले देखाएको छ । यस्तोमा हालको लेबर पार्टीले ग्रिन र माओरी सँग मिलेर ५८ सिटले सरकार गठन गर्न सक्दैन । न्युजिल्याण्डको प्रतिनिधि सभामा कुल १२० सिट संख्या रहेको छ । सरकार गठन गर्न कम्तिमा ६१ सिटको समर्थन आवश्यक पर्छ ।
यसरी हेर्दा लेबर पार्टीलाई सरकारलाई निरन्तरता दिन कठिन देखिन्छ ।

नेशनल पार्टीले बढी सिट जितेर सरकार बनाएता पनि पोलमा सहभागी धेरैले लेबरका क्रिस हिप्किन्सलाई प्रधानमन्त्रीको रुपमा रुचाएका छन् ।
हिप्किन्सको पक्षमा २५ % मत आएको छ भने नेशनलका नेता क्रिस्टोफर लक्सनको पक्षमा १८ % मत आएको छ ।

यस्तोमा कुन पार्टीले नयाँ सरकार बनाउछ र नयाँ प्रधानमन्त्री को बन्छ भन्ने हेर्न रोचक हुने देखिएको छ ।

हरेक ३ वर्षमा हुने न्युजिल्याण्डको आमनिर्वाचन आउदो ओक्टोबर १४ तारिकका दिन हुँदै छ । न्युजिल्याण्डको संसदमा ७२ जना समानुपातिक सुचीबाट निर्वाचित हुने छन् भने बाँकी ४८ जना राजनीतिक दलको बन्दसुचीका आधारमा निर्वाचित हुने व्यवस्था छ ।
हरेक मतदाताले दुई चोटि मतदान गर्नु पर्ने हुन्छ । एउटा पार्टीको लागि र अर्को आफ्नो क्षेत्रबाट उठेको उमेदवारका लागि । पहिलो मतदान अन्तर्गत ५ % थ्रेसहोल्ड कटाउने पार्टीले समानुपातिक तर्फ सिट पाउने छ ।

हाल न्युजिल्याण्डको संसदमा ५ वटा पार्टीको प्रतिनिधित्व रहेको छ जस्मा प्रधानमन्त्री क्रिस हिप्किन्स लेबर पार्टीले गत २०२० को निर्वाचनमा ६५ सिट हासिल गर्दै पहिलो पार्टी बनेको थियो । त्यस्तै प्रमुख प्रतिपक्षमा रहेको नेशनलको ३३ सिट, एसीटीको १० सिट र माओरी पार्टीको २ सिट रहेको छ । लेबर सँग सहकार्य गरेर सरकारमा रहेको ग्रीन पार्टीको १० सिट रहेको छ ।