न्युजिल्याण्ड र नेपालको सम्बन्ध ७ दशक पुरानो हो । सन् १९५३ मा न्युजिल्याण्डका नागरिक एडमन्ड हिलारीले नेपाली तेन्जिङ शेर्पासँगै सगरमाथा चढेपछि दुई देशबीचको नाता नजिकिएको हो । दुई देशको सम्बन्धमा पछिल्लो समय अर्को विषयले पनि गाढापन थपेको छ ।
न्युजिल्याण्ड नेपाली विद्यार्थीका लागि नयाँ शैक्षिक गन्तव्य बन्दै गएको छ । तथ्यांक हेर्ने हो भने अध्ययनका लागि न्युजिल्याण्ड आउने नेपालीको संख्या वर्षेनि थपिँदै छ । कोरोना महामारीका कारण दुई वर्ष सम्म ठप्प रहेको बोडरका कारण अन्तरराष्ट्रिय विद्यार्थीको कमी न्युजिल्याण्डले महसुस गरेको छ । तर अहिले अवस्था सामान्य बन्दै गएपछि न्युजिल्याण्डमा अन्तरराष्ट्रिय विद्यार्थीको संख्या बढ्न थालेको हो । अष्ट्रेलिया, अमेरिका, बेलायत र क्यानडापछि न्युजिल्याण्डमा उल्लेख्य मात्रामा अन्तराष्ट्रिय विधार्थी उच्च शिक्षा हासिल गर्न न्युजिल्याण्ड आउने गरेको पाईन्छ ।
नेपाली विद्यार्थीहरू डिप्लोमादेखि ब्याचलर, पीएचडीसम्मको अध्ययनका लागि न्युजिल्याण्ड आउने गरेका छन् । विशेषगरी बिजनेस, आईटी, हस्पिटालिटी, होटल मेनेजमेन्ट, कन्सट्रक्सन , कुकरी, नर्सिङ र इन्जिनियरिङ पढ्नेका लागि न्युजिल्याण्ड रोजाइको गन्तव्य बन्न थालेको छ ।
एडमन्ड हिलारीबाट जोडिएको नेपाल-न्युजिल्याण्ड नाताका कारण न्युजिल्याण्डका विद्यालयका पाठ्यक्रममा नेपालबारेका पाठ्यवस्तु समावेश छन् । न्युजिल्यान्डका नागरिकहरू नेपालबारे परिचित हुनुका साथै नेपाल प्रति उनीहरूले देखाउने आत्मीयताका कारण पनि विद्यार्थीको रुचि न्युजिल्याण्ड हुने गरेको छ । न्युजिल्याण्डमा भेटिने प्राय: मानिस नेपालबारे जानकार हुन्छन् । कोही त आफुले नेपाल भ्रमण गरेको समेत बताउछन् । अधिकांश किवी मानिस एक पटक नेपाल जान रहर भएको कुरा सुनाउछन् । नेपाल र न्युजिल्याण्ड बिच एउटा छुट्टै आत्मिय सम्बन्ध रहेको यसबाट पुष्टि हुन्छ ।
विश्वभर मान्यता प्राप्त नाम चलेका विश्वविद्यालय र यहाँको नेपाली सुहाउँदो हावापानीका कारण पनि विद्यार्थीलाई न्युजिल्याण्ड पढ्न सजिलो रहेको छ । विदेशी विद्यार्थीका लागि न्युजिल्याण्डको भिसा नीति पनि एकै प्रकारको छ । कुनै विश्वविद्यालय भर्ना गर्दा सुरुमै पैसा बुझाउनु नपर्ने भएकाले पनि विद्यार्थीले न्युजिल्याण्डलाई सुरक्षित गन्तव्य ठानेको मानिन्छ ।
न्युजिल्याण्डको कुनै विश्वविद्यालय वा पोलिटेक्निकल कलेजमा भर्ना हुनेले एप्रुभ इन पि्रन्सिपल (एआईपी) पत्र आएपछि मात्रै शुल्क बुझाए हुन्छ । सुरुमा वर्षदिनको शुल्क बुझाउनुपर्ने हुन्छ । विद्यार्थीहरूले तिरेको शुल्कको ग्यारेन्टी सरकारले लिने भएकाले बढी सुरक्षित भएको हो । न्युजिल्याण्डमा ८ वटा सरकारी विश्वविद्यालय र १६ पोलिटेक्निकल कलेज छन् ।
सरकारले पछिल्लो समय ल्याएको पिआर नीतिका कारण पनि न्युजिल्याण्डप्रती नेपाली आकर्षित छन् । ग्रीन लिस्ट, वर्क टु रेसिडेन्सी, स्ट्रेट टु रेसीडेन्सी लगायतका नीतिका कारण न्युजिल्याण्डमा निस्चित क्षेत्रमा काम गरेको केही वर्षमै स्थाई बसोबास भिसा अर्थात पिआर हासिल गर्न सकिन्छ ।
न्युजिल्याण्डमा विद्यार्थीले अध्ययनको बेला सातामा २० घन्टा र बिदाको बेला पूरा समय काम गर्न पाउने व्यवस्था छ । न्युजिल्याण्डमा पढ्न चाहने नेपाली विद्यार्थीले वाषिर्क १५ देखि २५ हजार न्युजिल्याण्ड डलर शैक्षिक शुल्क खर्च गर्नुपर्ने हुन्छ । भर्ना हुन चाहनेले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।
बेलायत, अष्ट्रेलियाले जस्तो विदेशी विद्यार्थीलाई आम्दानीको स्रोतको रूपमा उच्च प्राथमिकता नदिए पनि न्युजिल्यान्डको शिक्षाले विदेशी विद्यार्थीहरूलाई आकर्षित गरिरहेको छ ।


