कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन : अध्यक्ष ओली – New Zealand News Nepal (NZ News Nepal)

कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन : अध्यक्ष ओली

   June 30, 2023  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन्। भरतपुर विमानस्थलमा आज (बिहीबार) पत्रकारहरुसँग उनले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको बताए। अध्यक्ष ओलीले भने, ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ।’ पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उनले बताए।

अर्को एक प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए। उनले भने, ‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो।’

यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उनले भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ। अलिक दिन त्यसले पनि मार्केट पायो।’

केही दिनपछि ११ किलो सुन कहाँ गयो भन्ने प्रश्न आएको भन्दै उनले प्रतिप्रश्न गरे, ‘यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको?’

असार १५ असारमा धान दिवस मनाउन आएका ओलीले धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भने, ‘राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्‍यो, कृषि विश्वविद्यालय यहीं छ। विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्‍यो।’

यहाँको जमिन उर्वर भएको भन्दै उनले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताए।