किथ होल्योक: जो ११ वर्ष सम्म बने न्युजिल्याण्डको प्रधानमन्त्री – New Zealand News Nepal (NZ News Nepal)

किथ होल्योक: जो ११ वर्ष सम्म बने न्युजिल्याण्डको प्रधानमन्त्री

   July 7, 2023  

 

सन् १९६० मा लेबर पार्टीका नेता वाल्टर न्यासको सरकारको कार्यकाल सकिएपछि नयाँ निर्वाचनले नयाँ जनादेश दियो ।

सत्ता गुमेको ३ वर्षमा नै नेशनल पार्टी पुन: सरकारमा आयो । त्यो बेला नेशनलका लिडर थिए किथ होल्योक ।

३३ औं प्रतिनिधी सभाका लागि भएको निर्वाचनमा नेशनलले ४६ र लेबरले ३४ सिट ल्यायो । त्यसपछि किथ होल्योक बने देशको २६ औं प्रधानमन्त्री । ५६ वर्षका किथ  नेशनलको तर्फबाट दोस्रो पटक देशको प्रधानमन्त्री बन्दै थिए । सन् १९५७ मा उनी ८४ दिनका लागि चुनावी सरकारको प्रधानमन्त्री बनेका थिए । सोही वर्ष आफ्नो ३ कार्यकाल सकेर सिड्नी होल्याण्डले झन्डै ८ वर्ष प्रधानमन्त्री पदमा रहेर राजिनामा दिएका थिए । त्यसपछि नेशनल कै तर्फबाट किथ नयाँ दलको नेता चुनिए र आगामी चुनाव सम्मका लागि देशको प्रधानमन्त्री बने ।

५७ सालको निर्वाचनमा लेबरले ४१ र नेशनलले ३९ सिट ल्यायो । आफ्नो सत्ता यात्रा लाई निरन्तरता दिने सोचिरहेका किथले ८४ दिन मै सरकार छाड्नु पर्‍यो । तर ६० को निर्वाचनमा भने उनी सत्तामा फर्किन सफल भए । त्यस्पछि भएका ३ निर्वाचनमा नेशनलले नै बहुमत ल्यायो र थप ३ कार्यकालको लागि उनी देशको प्रधानमन्त्री बनिरहे । उनको पार्टी नेशनलले सन् १९६०, १९६३, १९६६ र १९६९ को निर्वाचनमा बहुमत ल्यायो र उनी ११ वर्ष सम्म देशको प्रधानमन्त्री बने ।

उनको कार्यकाल न्युजिल्याण्डको ईतिहासमा दोस्रो सबैभन्दा लामो कार्यकाल बन्न पुग्यो । यसअघि सन् १८९३ देखि १९०५ सम्म रिचार्ड सेड्डन १३ वर्ष सम्म न्युजिल्याण्डको प्रधानमन्त्री बनेका थिए । रिचार्डले लेबरल पार्टीबाट ५ कार्यकाल प्रधानमन्त्री पद सम्हालेका थिए ।

सन् १९७२ मा किथले प्रधानमन्त्री पदबाट राजिनामा दिए र नयाँ चुनावी सरकारको प्रधानमन्त्रीको रुपमा नेशनल कै अर्का नेता ज्याक मार्सललाई अघिसारे । त्यो बेला लामो कार्यकाल प्रधानमन्त्री बनेको भनेर उनको पार्टी भित्रैबाट उनलाई पद छोड्न दवाब दिईयो ।

१२ वर्ष देखि जित हासिल गरेको नेशनलले सन् १९७२ को निर्वाचनमा भने लेबरसँग पराजित हुन पुग्यो ।  देशमा लेबरको तर्फबाट नोर्म्यान क्रिक प्रधानमन्त्री बने ।

किथ पनि १९७२ को निर्वाचनमा उनी आफ्नो निर्वाचन क्षेत्रबाट बिजयी त भए तर उनको पार्टी ३२ सिटमा प्रतिपक्ष दल बन्यो । प्रतिपक्षमा पनि उनको भूमिका कडा रुपमा प्रस्तुत भयो । उनी राजनीतिमा झनै सकृय देखिए । त्यो बेलाको नेशनलका नेता ज्याक मार्सल प्रति उनको लगायत अन्य नेताको अबिश्वास रहेको कुरा बहिरिए पछि मार्सलले दलको नेताबाट राजिनामा दिए ।

सन् १९७५ को निर्वाचनमा किथ कै सकृयतामा नेशनलले पुन: बहुमत ल्याउन सफल भयो । त्यो बेला नेशनलले ३२ बाट ५५ सिट ल्याएको थियो । मार्सलपछि नेशनलको दलको नेतामा रोबर्ट मुल्डुन आएका थिए र रोबर्ट नै त्यस्पछि देशको प्रधानमन्त्री बने ।

प्रधानमन्त्री रोबर्ट कै सिफारिसमा लाई सन् १९७७ मा रानी एलिजाबेथले न्युजिल्याण्डको गभर्नर जनरलको रुपमा नियुक्ती दिईन् । सोही बेला उनले सांसद पदबाट राजिनामा दिए । उमेरहदका कारण उनी ३ वर्ष मात्र न्युजिल्याण्डमा महारानीको प्रतिनिधि बनेर काम गरे । गभर्नर जनरलको कार्यकाल सकेको ३ वर्ष पछि सन् १९८३ मा उनको निधन भएको थियो ।

पुर्व राष्ट्रप्रमुख र पुर्व प्रधानमन्त्रीको हैसियतमा उनको राष्ट्रिय सम्मानका साथ राजधानी वेलिङ्टनमा अन्तिम बिदाई गरिएको थियो ।