आज सोमबार, साउन १ गते। आजबाट नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरू भएको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटसम्बन्धी ३ वटै विधेयक (विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०) राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार नै प्रमाणीकरण भइसकेका छन्।
आर्थिक विधेयकले वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेफेर गरेको छ। भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो। भ्याट र अन्तशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरिएको छ। भ्याटका १७० र अन्तशुल्कका ३४० छुटका दरहरू खारेज गरिएका छन्।


