साहुको फन्दामा फसेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ – New Zealand News Nepal (NZ News Nepal)

साहुको फन्दामा फसेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

   August 2, 2023  

साहुको फन्दामा फसेका मजदुरलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुर विश्वकर्माले पूर्ण सफाइ पाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधीराम दाहालले जानकारी दिए।

उच्च अदालतको फैसला भने तयार भइसकेको छैन। मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएसँगै अन्यको भने तिर्नु पर्ने बिगो बढेको छ। अरु अभियुक्तको हकमा कैद र जरिवाना जिल्लाकै सदर भएको छ। लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको छ।

जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो। जाहेरवालाले समेत लालबहादुरलाई साहुले फसाएको र उनी निर्दोष रहेको बयान दिएका थिए। पुर्पक्षका लागि धरौटीमा रिहा गरेको जिल्ला अदालतले फैसला गर्दा भने साहुलाई जति नै बिगो कायम गरेको थियो। त्यसविरुद्ध लालबहादुरले उच्च अदालतमा अपिल गरेका थिए। मंगलबार उच्चमा सुनुवाइ हुँदा प्रतिनिधिसभाकी सदस्य सोविता गौतमसहितका कानुन व्यवसायीहरुले लालबहादुरको पक्षमा नि:शुल्क बहस गरेका थिए।