को हुन् क्रिस्टोफर लक्सन, जो बन्न चाहन्छन् न्युजिल्याण्डको नयाँ प्रधानमन्त्री

751 Shares

न्युजिल्याण्डमा आउदो अक्टोबर पछि को प्रधानमन्त्री बन्छ भन्ने चर्चा सुरु भएको छ ।

देशको ५४ औं प्रतिनिधि सभाका लागि १४ अक्टोबरमा निर्वाचन हुँदै छ । यो निर्वाचनमा लेबर पार्टी र नेसनल पार्टी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्पछि सबैभन्दा ठुलो अर्थात सबै भन्दा धेरै सिट ल्याउने पार्टीका नेता देशको प्रधानमन्त्री बन्ने छ ।

हालका प्रधानमन्त्री तथा लेबर पार्टीका नेता क्रिस हिप्किन्स् र बिपक्षि दल नेसनल पार्टीका क्रिस्टोफर लक्सन प्रधानमन्त्रीको यो दौडमा उक्रिएका छन् । न्युजिल्याण्डको संसदमा प्रधानमन्त्री हुन ६१ सांसदको समर्थन आवश्यक पर्दछ । लेबरले धेरै सिट ल्याए ग्रिन पार्टी सँग हाल कै सरकारलाई आगामी ३ वर्षको लागि निरन्तरता दिने छ । उता नेसनल ठुलो पार्टी बने एसीटी (एक्ट) पार्टी सँग सहकार्य गरेर सरकार बनाउने छ । त्यसो हुँदा देशको प्रधानमन्त्री बन्ने छन् ५३ वर्षिय क्रिसटोफर लक्सन ।

को हुन् क्रिसटोफर लक्सन जो बन्न चाहन्छन् न्युजिल्याण्डको प्रधानमन्त्री :

 

सन् १९७० मा क्राईसचर्चमा जन्मिएका क्रिसटोफर लक्सन राजनितीमा त्यती पुरानो नाम होइन । उनको राजनीति यात्रा सन् २०१९ बाट मात्र सुरु भएको हो । सन् २०२० को निर्वाचनमा अकल्याण्डको बोटानी निर्वाचन क्षेत्रबाट उनी न्युजिल्याण्ड संसदमा प्रवेश गरेका थिए ।

सो निर्वाचनमा उनले लेबर पार्टीका उमेद्वारलाई झन्डै ४ हजार मतान्तरले पराजित गरेका थिए । त्यसअघि सोही निर्वाचन क्षेत्रबाट नेसनलका नेता ज्यामी ली रोस सांसद थिए तर सन् २०१८ मा उनले नेसनल पार्टी छोडेपछि सो क्षेत्रबाट लक्सनले चुनाव लडेका थिए ।

पहिलो निर्वाचनमै लक्सनले १९ हजार १७ मत ल्याएर संसद प्रवेश गरेका थिए । सन् २०२१ नोभेम्बरमा नेसलनकी नेता जुडिथ कोलिन्सलाई दलको नेता बाट हटाईए पछि लक्सन नेसनलको दलको नेता बनेका थिए । त्यसयता उनि राजनितीमा निकै सकृय छन् । लक्सनलाई न्युजिल्याण्डको भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

राजनीति अघिको जीवन

 

राजनीति प्रवेश गर्नु अगाडि लक्सनले युनिलिभर र एयर न्युजिल्याण्डमा काम गरेका थिए ।

सन् १९९३ देखि उनि युनिलिभरमा काम गर्न थालेका थिए । सन् १९९३ देखि सन् २०११ सम्म लगातार १८ वर्ष लक्सनले विश्वका बिभिन्न देशमा रहेर युनिलिभर कम्पनीमा काम गरेका थिए ।

उनले सन् १९९३ देखि १९९५ सम्म न्युजिल्याण्डको राजधानी वेलिङ्टनमा, सन् १९९५ देखि २००० सम्म अष्ट्रेलियाको सिड्नीमा, सन् २००० देखि २००३ सम्म बेलायतको लण्डनमा, सन् २००३ देखि २००८ सम्म अमेरिकाको सिकागोमा र सन् २००८ देखि २०११ सम्म क्यानडाको टोरोन्टमा युनिलिभर कम्पनीसँग आबद्द रहेर काम गरेका थिए ।

सन् २०११ मा उनि न्युजिल्याण्ड फर्किए र ग्रुप जेनेरल मेनेजरको रुपमा एयर न्युजिल्याण्डमा प्रवेश गरे । सन् २०१२ मा उनि एयर न्युजिल्याण्डको सिईओमा नियुक्त भएका थिए ।

एयर न्युजिल्याण्डमा रहेर काम गर्दा सुरुका केही वर्ष उनको चौतर्फी तारिफ भएको थियो । उनको नेतृत्वमा रहेर एयर न्युजिल्याण्डले रेकर्ड तोड नाफा गरेको थियो । तर उनको नेतृत्व धेरै वर्ष टिक्न सकेन ।

सन् २०१८ मा उनको बिरुद्ध एयर न्युजिल्यान्डकै कर्मचारीहरु लागे । पारिश्रमिक विवादमा उनको कर्मचारी, ट्रेड युनियन लगायतका संस्थाले हड्ताल सहित आन्दोलनको घोषणा समेत गरे । पछि उक्त बिषयमा सहमती भएपछि आन्दोलन फिर्ता गरिएको थियो ।

सन् २०१९ जुनमा उनले एयर न्युजिल्याण्डबाट राजिनामा दिए र सन् २०२० को आमनिर्वाचनमा नेसनल पार्टीको तर्फ बाट चुनाव लडेर बेजेता भई राजनितिक र संसदिय यात्रा तय गरे ।

त्यसयता उनि न्युजिल्याण्डको राजनितीमा सकृय रहेका छन् र उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

 

सम्बन्धित समाचार

सबै