विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड – New Zealand News Nepal (NZ News Nepal)

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

   September 18, 2023  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागि हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका हुन्।

‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौँ,’ प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित गरिने छैन।’

अर्को प्रसंगमा उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको बताए। प्रधानमन्त्री प्रचण्डले त्यसको नियमनका लागि सरकारले विशेष पहल गरिरहेका पनि जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए।

उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि नकारात्मक कुरा गरेर कसरी बदनाम गर्न सकिन्छ भनेर केही गिरोह सक्रिय रहेको आरोपसमेत उनले लगाए।

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको उपल्लो तहमै केहि समस्या देखिएको स्वीकार गरे। उनले अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए।

आगामी बिहीबार महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

प्रचण्डले नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनु परेको बताए।