न्युजिल्याण्डमा नयाँ सरकारको प्रतिक्षा सबैमा देख्न सकिन्छ । नयाँ सरकार गठन हुन अब एक साता बाँकी छ अर्थात अक्टोबर १४ आउदो शनिबार निर्वाचन सम्पन्न भए लगत्तै चुनावको नतिजा सार्वजनिक हुने छ र कुन पार्टीले कति सिट जित्यो त्यस्तो विवरण सार्वजनिक गरिने छ ।
निर्वाचनको लागि मतदानको प्रकृया शनिबार साझँ ७ बजे सकिए लगत्तै मतगणना सुरु हुने छ सोही राती अबेर सम्ममा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । यस्तोमा सोही दिन टुङ्गो लाग्ने छ न्युजिल्याण्डमा आगामी ३ वर्षको लागि कस्ले सरकार चलाउने छ ।
न्युजिल्याण्डमा रहेका पार्टीहरु मध्य लेबर र नेसनल बिच कडा प्रतिस्पर्धा हुँदैछ । त्यस्तै ग्रिन पार्टी, एक्ट, माओरी पार्टी पनि यो निर्वाचनमा राम्रो नतिजा ल्याउनेमा ढुक्क छन् । सरकार गठनका लागि भने पार्टीहरुले चुनावी गठबन्धनलाई निरन्तरता दिने छन् ।
कुनै पनि पार्टीले बहुमत अर्थात ६१ सिट नजितेको खण्डमा दुई वा बढी पार्टी मिलेर सरकार बनाउनु पर्ने अवस्था आउने छ । लेबरले बढी सिट जिते, ग्रिन र माओरी पार्टी सँग मिलेर अहिलेकै सरकारलाई निरन्तरता दिने छ भने नेसनलले बढी सिट ल्याए एक्ट सँग सहकार्य गर्ने छ ।
पछिल्ला केही मत रुझान र सर्वेक्षण अनुसार यो निर्वाचनमा नेसनल र एक्टको सहकार्यमा सरकार बन्ने सम्भावना रहेको छ । चुनावी नतिजा कस्तो आउछ र कुन पार्टीले नयाँ सरकार बनाउछ त्यो भने अक्टोबर १४ तारिक सम्म कुर्नै पर्ने हुन्छ ।


