अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

253 Shares

अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

 

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस) ले बताएको छ। ​

कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीन वटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ। ​अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान गरेका छन्।

‘हामी अक्टोबरको पहिलो सातामा छौँ र हामीले धेरै दिनदेखिको ३० डिग्री तापक्रम र उच्च हावासहितको मध्य गर्मी महसुस गरिरहेका छौँ, जङ्गलमा लागेको आगोले यस्तो खालको वातावरण मन पराउँछ र यो विशेषगरी क्षेत्रीय समुदायका लागि विनाशकारी हो’, प्रिमियर मिन्सले भने।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’ बाट घटाएर ‘सुझाव’ मा झारिएको थियो। बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
 

सम्बन्धित समाचार

सबै