न्युजिल्याण्डको राजनितीमा एउटा चर्चित नाम हो विन्स्टन पिटर्स । एनजेड फर्स्ट पार्टीका नेता पिटर्स अब संसदमा पुन: प्रवेश गर्दै छन् ।
उनको पार्टी एनजेड फर्स्टले हालै सम्पन्न भएको निर्वाचनमा ८ सिट जितेको छ । अघिल्लो निर्वाचनमा लज्जास्पद हार भोगेका पिटर्सको पार्टीले २०२० को निर्वाचनमा एक सिट पनि जित्न सकेको थिएन ।
स्मरण रहोस् सन् २०१७ को निर्वाचनमा ९ सिट ल्याउदै एनजेड फर्स्ट पार्टीले प्रधानमन्त्रीमा जसिन्डा आर्डेनलाई समर्थन गरेको थियो । सो समय पिटर्स न्युजिल्याण्डका उपप्रधानमन्त्री नियुक्त भएका थिए । सन् २०२० को निर्वाचनमा भने पार्टीले कुनै सिट नजिते पछि संसदमा उस्को उपस्थिती रहेको थिएन । यो वर्षको निर्वाचनबाट भने पिटर्सले संसदमा वापसी गरेका छन् । अब उनले नेसनललाई नयाँ सरकार बनाउन सहयोग गर्ने छन् । उनका ८ जना सांसदले नेसनललाई नेता क्रिस्टोफर लक्सनलाई प्रधानमन्त्रीमा समर्थन गर्ने छन् ।
कुनै समय पिटर्स नेसनल पार्टीमा नै आबद्द थिए । सन् १९९३ अघि नेसनल पार्टी मै रहेका पिटर्सले सन् १९९३ देखि पार्टी परित्याग गरेर सांसद पदबाट राजिनामा दिएका थिए ।
तउरङाबाट निर्वाचित उनले उपनिर्वाचनमा स्वतन्त्र चुनाव लडेका थिए जस्मा उनले सजिलै जित हासिल गरे । सन् १९९३ को निर्वाचनमा भने उनले नयाँ पार्टी एनजेड फर्स्ट पार्टी स्थापना गरेर संसदिय यात्रा तय गरेका थिए । सन् २००८ सम्म एनजेड फर्स्ट पार्टीले संसदमा उपस्थिती जनाएको थियो । सन् २००८ को निर्वाचनमा पार्टीले कुनै सिट जितेको थिएन । सो कार्यकालमा पार्टी संसद बाहिर नै रहेको थियो । त्यस्पछि सन् २०११ देखि २०२० सम्म न्युजिल्याण्डको संसदमा पुन: प्रवेश पाएको थियो । अघिल्लो निर्वाचनमा पराजित हुँदै संसद बाहिरै रहेको थियो ।
सन् २०१७ मा लेबरकी जसिन्डा आर्डेनलाई प्रधानमन्त्रीमा समर्थन गरेको पिटर्सले यो पटक भने नेसनललाई साथ दिदै छन् । लेबरले यसअघि नै एनजेड फर्स्ट र विन्स्टन पिटर्सबाट देश उभो नलाग्ने भन्दै गठबन्धन नबन्ने बताईसकेको छ ।